बुटवल। विदेशी खेलाडीको बलबुतामा चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्लबलाई ४–१ ले पाखा लगाएको हो।
चर्च ब्वाइजको जितमा अर्मान्ड बेएडुमले ह्याट्रिक गरे। यस्तै, कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे। मच्छिन्द्रका एलेक्स विलियम्सले सान्त्वना गोल फर्काए।
योसँगै चर्च ब्वाइजले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ। अब चर्च ब्वाइजले उपाधि भिड्न्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ। एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ।
यी दुईबीचको उपाधि छिनोफानो शनिबार टुंगो लाग्ने छ। खेलको प्रत्यक्ष प्रसारण खेलपाटी टिभी (युट्युब) मार्फत हुनेछ। ३०औं मिनेटमा चर्च ब्वाइजलाई अर्मान्डले सुरुआती अग्रता दिलाए।
डिफेन्डर प्रवेश कटुवालले राइन्ड एन्ड साइटबाट दिएको क्रसलाई अर्मान्डले सिक्स यार्डबाट हेडर गर्दै गोलमा परिणत गरे। आधा घन्टामै गोल खाएपछि मच्छिन्द्र दबाबमा आएको थियो।
त्यसको १० मिनेटपछि अर्मान्डलाई डिबक्समा रोक्ने प्रयास गर्दा मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले लडाउन पुगे। त्यसैमा प्राप्त पेनाल्टीलाई अर्मान्डले नै गोलमा परिणत गरे।
अर्मान्ड दुई गोलमै रोकिएन। उनले ४४औं मिनेटमा ह्याट्रिक पूरा गरे। राज भुषालले उपलब्ध गराइदिएको बललाई रोक्न मच्छिन्द्रका गोलकिपर टोपे रानामगर अगाडि बढेका थिए। तर, बिट हुँदा अर्मान्डले गोल गर्दै ह्याट्रिक पूरा गरे।
जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो। यसअघि संकटा फुटबल क्लबका सृजनराज गौतमले जर्जियन फुटबल क्लब कालिम्पोङविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए।
पहिलो हाफमा आक्रामक खेलको चर्च ब्वाइजले दोस्रो हाफमा भने प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा फराकिलो जित निकाल्न चुक्यो। यद्यपि, चर्च ब्वाइजले ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै अग्रता ४–० मा पुर्याए।
राजले कर्नरमार्फत दिएको बललाई डाइरेक्ट भलीमार्पत गोलमा परिणत गरे। मच्छिन्द्रले निर्धारित ९० मिनेटको खेल सकिन तीन एलेक्सले गोल गरे। उनले मैदानको मध्यभागतर्फबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डरद्वय बिकु राई तथा चेतन चौधरी र गोलकिपर विवश चौधरीलाई बिट गर्दै उनले गोल गरेका हुन्। तर, उक्त गोल मच्छिन्द्रलाई पर्याप्त बने।
खेलको ‘प्लेयर अफ द म्याच’ फाकुल्ने भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे। दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो।
मच्छिन्द्रले भने एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकाल्दै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो।