काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा)बाट लागेको प्रतिबन्ध सकिन्न केही महिना मात्रै बाँकी छ।
यस्तोमा उनले सार्वजनिक मञ्चबाटै एन्फा नेतृत्वमा कहिल्यै नफर्किने वाचाकसम खाइसकेका छन्। तर, प्रतिबन्धको समयसीमा सकिँन लाग्दा उनले आफैंले गरेको वाचाकसम भुल्दै आफ्नो गतिविधि तीव्र बनाएका छन्। सायद उनलाई पुनः नेतृत्वमा फर्किने मन पलाइसकेको छ।
त्यसैले भित्रभित्रै उकुसमुकुसले भरिएका उनले आफ्नो असन्तुष्टि पोख्ने माध्यम सामाजिक सञ्जाललाई बनाएका छन्। यहीँबाट उनी आरोप प्रत्यारोपमा उत्रिरहेका हुन्छन्।
आफ्नै सहयोगमा अध्यक्ष बनेका पंकजविक्रम नेम्वाङलाई गाली गर्ने होस् या एन्फाको हरेक काममा विरोध गर्नमा उनी अग्रस्थानमै हुन्छन्। यस्तो कार्यले फुटबल गतिविधिमा ‘डिस्टर्ब’ गरेको भन्दै एन्फा कार्यसमिति बैठकले उनको ‘मुख थुन्ने’ प्रस्ताव पारित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई कारबाही गर्न विभिन्न निकायमा पत्राचार गर्ने निर्णय गरेको छ।
‘फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धित विभिन्न भष्ट्राचारलगायतका फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरूलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरूमा आवश्यकताअनुसार पत्राचार गर्ने,’ एन्फा प्रवक्ता सुरेश शाहले सार्वजनिक गरेको निर्णयमा भनिएको छ।
फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गरेको थियो।
त्यसपछि कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी २०७२ कात्तिकमा फिफाले १० वर्षका लागि थापालाई प्रतिबन्ध लगाएको थियो भने २१ लाख रुपैयाँ जरिवाना गरेको थियो।
सन् १९९५ मा अध्यक्ष भएर एन्फा छिरेका थापामाथि लागेको उक्त प्रतिबन्ध अवधि करिब सकिन लागेको छ। यही बेला आफूले नै साथ दिएर जिताएको अध्यक्ष नेम्वाङको नेतृत्वमा रहेको एन्फामाथि निरन्तर धावा बोलिरहेका छन्। त्यसैले विभिन्न निकाय गुहारेर उनलाई चुप लगाउने प्रस्ताव पारित गरिएको हो।
थापाले मंगलबार नै सामाजिक सञ्जालमार्फत यो निर्णयको स्वागत गर्दै फिफाले दिएको ‘म्यान्डेट’ भन्दा बाहिर गएर कुनै अभिव्यक्ति वा अन्य कुनै गतिविधि गरेको प्रमाणित भएमा कारबाही गरेर देखाउन एन्फालाई चुनौती दिएका छन्।
‘गणेश थापाले एन्फामा रहँदा हानि नोक्सानी, आर्थिक अनियमितता तथा प्रतिबन्ध भएको समयमा फिफाले दिएको म्यान्डेटभन्दा बाहिर गएर कुनै अभिव्यक्ति वा अन्य कुनै गतिविधि गरेको प्रमाणित भएमा कारबाही गरेर देखाउन एन्फालाई चुनौती दिन चाहन्छु,’ उनले भनेका छन्।
एन्फा नेतृत्वमा ल्याउन नेम्वाङ, महासचिव किरण राई र सदस्यहरूलाई फुटबल गतिविधिमा प्रतिबन्ध लागेको समयमा सहयोग गरेको स्वीकार गरेका छन्। त्यसैले यसबारे पनि छानबिन गर्न उनले सुझाव दिएका छन्। दोषी ठहरिएमा जुनसुकै कारबाही भोग्न आफू तयार रहेको उनको भनाइ छ।
यस्तै, संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिउपर पनि गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरिएको छ।