काठमाडौं। मेहदी तारेमीको दुई गोलको मद्दतले मंगलबार उज्बेकिस्तानसँग २–२ को बराबरी खेल्दै इरान विश्वकप २०२६ मा छनोट भएको छ।
इन्टर मिलानका स्ट्राइकर तारेमीले ८३औं मिनेटमा दोस्रो गोल गरेर इरानलाई त्यस्तो अंक दिलाए, जुन उसलाई लगातार चौथोपल्ट विश्वकपमा सहभागी हुन पर्याप्त बन्यो। योसँगै इरान समग्रमा सातौंपल्ट विश्वकपमा पुगेको हो।
४८ टिमको यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने तय छ। इरान र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीहरूको क्रियाकलापलाई इरानसँग जोडेर ‘थप आक्रमणहरूको लागि परिणाम भोग्नुपर्ने’ चेतावनी तेहरानलाई दिएका छन्। यसले इरानको टोलीको तयारीमा कस्तो असर पर्नेछ भन्ने कुरा स्पष्ट छैन।
समूह ‘बी’मा इरानभन्दा उज्बेकिस्तान तीन अंक पछाडि थियो। जित निकालेको भए उज्बेकिस्तान पहिलोपल्ट विश्वकपमा स्थान बनाउन सक्थ्यो। अजार स्टेडियममा उज्बेकिस्तानले दुई पटक अग्रता लिएको थियो।
१६औं मिनेटमा खोझिमत एर्किनोभले गोल गरे। तर, तारेमीले दोस्रो हाफको सातौं मिनेटमा इरानलाई समान स्थितिमा ल्याए। उनले पेनाल्टी एरियाको बाहिरबाट ‘ह्वली’ प्रहार गर्दै गोल गरेका हुन्।
अबोसबेक फयजुल्लाएभले उज्बेकिस्तानलाई फेरि अग्रता दिलाए। तर, तारेमीले जवाफी गोल गरे र इरानलाई विश्व कपमा पुर्याए। एसियामा तीन समूहहरूको प्रत्येकको शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छ। त्यसैले उज्बेकिस्तानको सम्भावना भने अन्त्य भइसकेको छैन।
तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई)ले पुछारको उत्तर कोरियालाई २–१ ले पराजित गर्दै उज्बेकिस्तानसँगको अंक दूरी चारमा झारेको छ। एसियाली च्याम्पियन कतार ३–१ ले किर्गिजस्तानमा पराजित भएकोले प्लेअफको दौडबाट बाहिरिएको छ।