काठमाडौं। नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटमा पोट २ मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बुधबार छनोटको ‘ड्र’ लागि सार्वजनिक गरेको पोटमा नेपाल २ मा परेको हो। ‘ड्र’ बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा नेपाली समयअनुसार १२:४५ बजे हुने तय छ।
छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन्। एएफसीले सार्वजनिक गरेको सिडिङ पोट्सअनुसार पोट २ मा इन्डोनेसिया, जोर्डन, भारत, हङकङ, बहराइन, गुआम, मलेसिया र नेपाल छन्।
पोट १ मा भियतनाम, उज्बेकिस्तान, थाइल्यान्ड, म्यानमार, उत्तर कोरिया, फिलिपिन्स, चाइनिज ताइपेइ र इरान छन्। पोट ३ मा भने कम्बोडिया, लाओस, युएई, मंगोलिया, लेबनान, बंगलादेश, काजकिस्तान र प्यालेस्टाइन छन्।
पोट ४ मा तुर्किमिस्तान, ताजकिस्तान, सिंगापुर, पाकिस्तान, श्रीलंका, टिमोर लिस्टे, माल्दिभ्स र साउदी अरब छन्। पोट ५ मा भने दुई टोली इराक र भुटान छन्। वरीयताका अनुसार पोट विभाजन गरिएको हो।
भियतनाम, उज्बेकिस्तान, थाइल्यान्ड, म्यानमार, इन्डोनेसिया, जोर्डन, कम्बोडिया र ताजकिस्तानले छनोट चरणका खेल खेलाउने छन्।
दुई समूहमा पाँच टोली र ६ समूहमा चार टोली रहनेछन्। समूह विजेता एएफसी महिला एसियन कप २०२६ को लागि अस्ट्रेलिया जानेछन्।