काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलंकामाथि थाइल्यान्डले कठिन जित निकालेको छ।
राजमंगला रंगशालामा मंगलबार सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा घरेलु टोली थाइल्यान्डले १–० को जित निकालेको हो।
फिफा विश्व वरीयतामा श्रीलंकाभन्दा थाइल्यान्ड १०३ स्थानमाथि छ। श्रीलंका भने २००औं स्थानमा छ। वरीयतामा ९७औं स्थानमा रहेको थाइल्यान्ड एसियाको उत्कृष्ट टिममध्ये एक हो।
थाइल्यान्डले अहिलेसम्म श्रीलंकासँग कुनै पनि अन्तर्राष्ट्रिय खेलमा हार बेहोरेको थिएन। अझ कति भने यति सकसपूर्ण जित हात पारेको इतिहास भने २२ वर्ष अगाडिको मात्रै थियो।
एसियन क्वालिफायरको अन्तिम खेलमा श्रीलंका थाइल्यान्डसँग २–० ले पराजित भएको थियो। विश्वकप छनोटअन्तर्गत यी दुई टोलीबीच भएका चार खेलमा श्रीलंकाले सन् २००१ मा ३–० र ४–२ तथा १९९३ मा ३–० र ०–१ को हार बेहोरेको थियो।
यसअघि श्रीलंकाले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लाओसलाई २–१ ले पराजित गरेको थियो। फिफा विश्व वरीयतामा आफूभन्दा १४ स्थान माथि रहेको लाओसलाई पराजित गरेपछि श्रीलंका जितको आत्मविश्वासका साथ थाइल्यान्डविरुद्ध मैदानमा उत्रिएको थियो।
अझ श्रीलंकाली मूलका धेरै विदेशी खेलाडी टोलीमा समावेश थिए। त्यसैले श्रीलंकाले थाइल्यान्डमाथि उत्कृष्ट प्रदर्शन गर्दै १–० को मात्रै नतिजा सुम्पिएको हो।
थाइल्यान्डलाई जित दिलाउन प्याट्रिक गुस्ताभसनले गरेको गोल नै निर्णायक बन्यो। उनले ४३औं मिनेटमा गोल गरेका हुन्। अब श्रीलंकाले छनोटअन्तर्गत दोस्रो खेल जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ।
फिफा वरीयतामा १६५औं स्थानमा रहेको ताइपेविरुद्धको खेल श्रीलंकाले घरेलु मैदानमै खेल्ने तय छ।