काठमाडौं। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना मंगलबार फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।
सातौं स्थानमा रहेको बोलिभियाले एल आल्टोमा उरुग्वेसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिनाले विश्वकपमा सोझै स्थान पक्का गरेको हो। बोलिभियासँग चार खेल मात्र बाँकी रहँदा १४ अंक मात्र रहेको छ।
अर्जेन्टिनाले अहिले मोनुमेन्टल डे नुनेज स्टेडियममा आफ्ना चिरप्रतिद्वन्द्वी ब्राजिलको सामना गरिरहेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी ४८ टिमले सहभागिता जनाउने छन्। दक्षिण अमेरिकाबाट ६ टिमले सिधैं आफ्नो स्थान सुनिश्चित गर्नेछन्।
‘हामीले विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा स्थान पक्का गरिसकेका छौं, अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमले एक्स (ट्विटर) मा पोस्ट गरेको छ, ‘एक पटक फेरि हामी उच्चतम महिमा जित्न लड्नेछौं। गो अर्जेन्टिना!’
लिओनल मेसीको नेतृत्वमा रहेको तीनपटकको विश्वविजेता अर्जेन्टिनाले (२८ अंक) सुरु देखिनै दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहँदै आएको छ। उसले ब्राजिल र उरुग्वेविरुद्धका महत्त्वपूर्ण ‘अवे’ जित निकालेको छ।
तर, प्रशिक्षक लिओनल स्कालोनीले ३७ वर्षीय इन्टर मियामीका फरवार्ड मेसीलाई धेरै खेलमा खेलाएका छैनन्। त्यसैले मेसीले आगामी विश्वकप खेल्ने कि नखेल्ने भन्ने विषयमा अझै शंका कायमै छ।
मेसीको ‘एडडक्टर’ मांसपेशीमा चोट रहेको छ, जसका कारण उनी अर्जेन्टिनाका पछिल्ला खेलमा अनुपस्थित छन्।