काठमाडौं। डिफेन्डर सुमन श्रेष्ठलाई डेब्यु गराउँदै नेपाली राष्ट्रिय मुख्य प्रशिक्षक म्याट रसले सिंगापुरविरुद्ध उत्रिने सुरुआती ११ सार्वजनिक गरेका छन्।
सिंगापुर नेसनल स्टेडियममा हुने मैत्रीपूर्ण खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६:१५ बजे हुनेछ।
नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने हुन लागेका हुन्। ३६ वर्षपछिको भेटलाई अविशमरणीय बनाउन प्रशिक्षक रसले सुमनबाहेक पुरानै अनुहारलाई सुरुआती ११ मा स्थान दिएका छन्।
५ जुन १९८९ मा भएको पछिल्लो भेटमा सिंगापुरले नेपाललाई ७–० ले पराजित गरेको थियो। त्यसअघि भएको दुई भेट (१९८२ र १९८९) मा पनि नेपाल क्रमशः २–० र ३–० ले पराजित हुन पुगेको थियो।
सन् १९८९ मा भएको दुई खेल विश्वकप छनोटका हुन् भने १९८२ को खेल किङ्स कपको रहेको थियो। त्यसयता पहिलोपल्ट भिड्न लाग्दा प्रशिक्षक रसले उत्कृष्ट खेल पस्किने आशा व्यक्त गरेका छन्।
‘म खेलाडीबाट बलियो प्रदर्शनको अपेक्षा गर्छु। सबै खेलाडी फिट छन्, त्यसैले उत्कृष्ट प्रतिद्वन्द्वीविरुद्ध ठूलो मञ्चमा हामी के गर्न सक्छौं भन्ने कुरामा म उत्साहित छु,’ उनले भनेका छन्।
सिंगापुर फिफा वरीयतामा १६०औं स्थानमा छ। नेपाल भने त्यसको ठ्याक्कै १५ स्थान तल छ। यद्यपि, पछिल्लो समय सिंगापुरको प्रदर्शन चित्तबुझ्दो छैन।
अघिल्लो वर्ष फिफा विश्वकप छनोटका चार, दुई मैत्रीपूर्ण खेल र आसियन च्याम्पियनसिप गरेर १२ खेल खेलेको थियो। तीमध्ये आठ हार बेहोरेको थियो भने दुई बराबरीमा र दुई खेलमा जितको स्वाद चाख्न पाएको थियो।
नेपालको हाल पनि सिंगापुरको जस्तै दैनिह छ। यही समयमा आठ खेल मात्रै खेल्न पाएको थियो। चार विश्वकप छनोट, दुई मैत्रीपूर्ण र दुई अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको नेपालको नतिजा निराशाजनक रह्यो।
यीमध्ये नेपालले जित निकालेको भनेको गत नोभेम्बरमा भएको अफगानिस्तानविरुद्ध मात्रै हो। उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो। यस्तै, विश्वकप छनोटमा नेपालले यमनलाई २–२ को बराबरीमा रोकेको थियो। यसपल्ट नेपाल त्यो कमजोर टोलीको तथ्य फेर्ने लक्ष्यसाथ मैदान उत्रिने तरखरमा छ।
नेपालको सुरुआती ११
किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जेलेस्पीजंघ कार्की, एरिक विष्ट, सुमित श्रेष्ठ, अञ्जन विष्ट, आयुष घलान, मनीष डाँगी र रोहित चन्द