काठमाडौं। इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले आफ्नो गोल गर्ने क्षमतालाई फ्यानहरूले अब सामान्य रूपमा लिन थालेको बताएका छन्। फ्यान ‘दिक्क’ भएका कारण अब उनी गोल गर्दा त्यति उत्साहित हुने छैनन्।
३१ वर्षीय केन इङ्ग्ल्यान्डका सर्वाधिक गोलकर्ता हुन्। उनले १०३ खेलमा ६९ गोल गरिसकेका छन्। थ्री लायन्सले शुक्रबार नयाँ मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा २०२६ विश्वकप छनोटको पहिलो खेल अल्बानियाविरुद्ध वेम्बलीमा खेल्दैछ।
उनी यो खेलमा आफ्नो गोल संख्या बढाउने प्रयास गर्नेछन्। बायर्न म्युनिखमा अनुबन्ध भएपछि केनको प्रदर्शन झन् प्रभावशाली बनेको छ। उनले जर्मन क्लबका लागि ८२ खेलमा ७६ गोल गरिसकेका छन्।
तर, पूर्व टोटनह्याम स्टारका अनुसार यदि उनी अहिले २५ वर्षका हुन्थे भने फ्यानहरू अझ उत्साहित हुन्थे। तर, उनले लगातार गोल गरिरहेकाले फ्यानहरूमा उत्साह कम भएको छ।
‘जब रोनाल्डो र मेसीले ५० गोल गर्ने बानी बसाले त्यसपछि उनीहरूले ४० गोल गर्दा पनि फ्यानहरूले कम आँक्न थाले,’ केनले खेलअघि पत्रकार सम्मेलनमा भने।
उनले थपे, ‘इङ्ग्ल्यान्डका लागि मैले ६९ गोल गरिसकेको छु। अल्बानिया वा लाट्भियाजस्ता टोलीविरुद्ध गोल गर्दा पनि फ्यानहरू त्यसलाई सामान्य रूपमा लिन थालेका छन्।’
तर, गोल हुनु फुटबलको स्वाभाविक प्रक्रिया हो। अन्य खेलाडीहरू बढीभन्दा बढी गोल गर्न चाहन्छन्। यस्तोमा केन ठान्छन्, सायद कुनै खेलाडीको निरन्तर सफलतासँग फ्यानहरू दिक्क हुन्छन्। तर, केन भने अझै उत्साहित छन्। त्यसैले आगामी प्रतियोगिताहरूको प्रतीक्षा उनले गरिरहेका छन्।
ट्रफी जित्न अझै बाँकी
केनले व्यक्तिगत रूपमा सानदार उपलब्धि हासिल गरे पनि उनका गोलले इङ्ग्ल्यान्डलाई कुनै ठूलो अन्तर्राष्ट्रिय उपाधि जिताउन सकेको छैन। सन् १९६६ मा वेम्बलीमा विश्वकप जितेपछि इङ्ग्ल्यान्डले अहिलेसम्म कुनै ठूलो ट्रफी जित्न सकेको छैन।
तर, केनले बायर्नको जर्सीमा सानदार प्रदर्शन गरिरहेका छन्। उनको उत्कृष्ट खेलले क्लबलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुर्याइसकेको छ। बायर्न बुन्डेसलिगाको उपाधिनजिक पुगेको छ, जसले केनलाई सम्भावित बालोन डी’ओर को दौडमा कायम राखेको छ।
‘बायर्न म्युनिखमा खेल्दा मेरो आत्मविश्वास झन् बढेको छ। म अझ राम्रो भएको छु। ठूला खेलहरू खेल्दा बढी सम्मान र आत्मविश्वास मिल्छ,’ उनले भने। पछिल्लो सिजन उनले क्लबबाट ४० भन्दा बढी गोल गरेका थिए। तर, टोलीले कुनै ट्रफी जित्न सकेन। त्यसैले उनले बालोन डी’ओर जित्न सकेनन्।
तर, यो सिजन केन ट्रफी जित्ने लक्ष्यसहित अघि बढिरहेका छन्। ‘यदि तपाईले पर्याप्त ट्रफी जित्नुभयो र ४० भन्दा बढी गोल गर्नुभयो भने बालोन डी’ओर जित्न सकिन्छ। यो मेरो लक्ष्यमध्ये एक हो,’ उनले भने।