काठमाडौं। भिनिसियस जुनियरले खेलको नवौं मिनेटको इन्जुरी समयमा निर्णायक गोल गर्दै ब्राजिललाई दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियाविरुद्ध २–१ को रोमाञ्चक जित दिलाएका छन्।
ब्राजिलियामा शुक्रबार बिहान भएको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले छैटौं मिनेटमै राफिन्हाको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। तर, ४१औं मिनेटमा लुइस डियाजले उत्कृष्ट गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए।
दोस्रो हाफमा कोलम्बियाले बढी दबाब सिर्जना गरे पनि अन्ततः रियल मड्रिडका विंगर जुनियरको निर्णायक गोलले ब्राजिललाई जित दिलायो।
यो जितसँगै ब्राजिल १० टोली रहेको छनोट समूहको दोस्रो स्थानमा उक्लिएको छ। ब्राजिल अब समूहको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाभन्दा चार अंकले पछाडि छ। अर्जेन्टिनाले शुक्रबार उरुग्वेको भ्रमण गर्दैछ।
खेलको सुरुआतमै ड्यानियल मुनोजले भिनिसियसमाथि गरेको फउलपछि ब्राजिलले पेनाल्टी पायो। राफिन्हाले तीव्र दौडिएर सहज रूपमा पेनाल्टीलाई गोलमा परिणत गरे।
तर, पहिलो हाफको अन्त्य हुन चार मिनेट बाँकी रहँदा जेम्स रोड्रिग्वेजले लिभरपुलका डियाजलाई बल पास गरे। डियाजले बललाई भित्र लग्दै पोस्टको तल्लो कुनामा पठाउँदै कोलम्बियाका लागि बराबरी गोल गरे।
६८औं मिनेटमा कोलम्बियाले उत्कृष्ट अवसर पायो। तर, रोड्रिग्वेजको प्रहार ब्राजिलका गोलकिपर एलिसन बेकरले सहजै बचाए। ७८औं मिनेटमा एलिसन कोलम्बियाका डाभिन्सन सान्चेजसँग ठोक्किँदा चोट बोकेर मैदान बाहिरिए। सान्चेजलाई पनि घाइते भएपछि स्ट्रेचरमा मैदानबाट बाहिर लैजानु पर्यो।
कोलम्बियाले बल पोजिसनमा बढी नियन्त्रण राखे पनि ब्राजिल आक्रमणमा खतरनाक देखियो। ८२औं मिनेटमा गिलहेर्मे अरानाले प्रहार गरे। तर, बल पोस्टभन्दा केही फरक पर्यो।
एलिसनको चोटका कारण खेलमा थपिएको इन्जुरी समयमा जुनियरले शक्तिशाली प्रहार गरे, जसले कोलम्बियन डिफेन्डरको टाउकोमा लागेर दिशा परिवर्तन गर्दै जाली चुम्यो।