विराटनगर। पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लब भिड्ने भएका छन्।
मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा हुने प्रतियोगिता आइतबारदेखि सुरू हुँदैछ। मिल्स गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष विष्णु डंगोलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले एक लाख एक हजार रुपैयाँ र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हासिल गर्नेछ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडीले दुई हजार एक सय रुपैयाँ प्राप्त गर्नेछन्। विधागत पुरस्कार जनही तीन हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले जितेको थियो। फाइनलमा एपिएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ ले पराजित गरेको थियो।