रुपन्देही। २३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन्।
आयोजक रुपन्देही जिल्ला फुटबल संघले बिहीबार सहभागी टोलीको टुंगो लगाएको हो। यो संस्करणमा साबिक विजेता मनाङ मर्स्याङ्दी फुटबल क्लब भने हुने छैन।
यद्यपि, चर्च ब्वाइज र मच्छिन्द्रसँगै एपिएफ, संकटा, नेपाल पुलिस क्लबले सहभागिता जनाउने भएका छन्। आयोजकको एक टिम हुनेछ भने भारतबाट जर्जियन एफसफ र एडोर्न गडवाल स्पोर्टिङले पनि सहभागिता जनाउने पक्का भइसकेको आयोजकले जनाएको छ।
चैत ९ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही र एपिएफ भिड्ने छन्। समूह ‘ए’ मा यी दुईसहित संकटा र जर्जियन एफसी छन्। अर्को समूहमा चर्च ब्वाइज र मच्छिन्द्रसँगै पुलिस र एडोर्न गडवाल स्पोर्टिङ क्लब छन्।
प्रतियोगिताको सम्पूर्ण खेल बुटवल ११ स्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्।
उपविजेताले भने ६ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाउने छ। सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर दिइने आयोजकले जनाएको छ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई समान ३१ हजार रुपैयाँ दिइने छ। प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ हात पार्नेछ।