काँकडभिट्टा। ३–० को अवस्थामा पुनरागमन जित निकाल्दै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको उपाधिनजिक पुगेको छ।
अबयोमी फकुन्लेको ह्याट्रिकसँगै बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबलाई ४–३ ले पाखा लगाएको हो।
चर्च ब्वाइजले अब उपाधिका लागि शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ। खेलको ३०औं मिनेटमा युसुफ मलिकको गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लियो।
पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी मलिकले गोल गरेका हुन्। ४३औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। आदित्य शाक्यको क्रसमा आन्द्रेस नियाले गोल गरे। त्यसको एक मिनेट बित्न नपाउँदै मलिकले मच्छिन्द्रका लागि अर्को गोल थपे।
मैदानको मध्यभागबाट अगाडि बढाइएको बललाई उनले सुन्दर फिनिसिङ गरेका थिए। तर, पहिलो हाफमा लिएको तीन गोलको अग्रतालाई मच्छिन्द्रले कायम राख्न सकेन।
६१औं मिनेट विदेशी खेलाडी अबयोमी फकुन्लेले गोल गर्दै चर्च ब्वाइजलाई ३–१ मा ल्याए। विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे। ६९औं मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे।
डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएयो। ७८औं मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए।
विदेशी खेलाडी फकुन्लेको क्रसमा उनले मच्छिन्द्रका दुई जना डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए। ८७औं मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे। मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे। योसँगै मच्छिन्द्रले फाइनलको यात्रासमेत तय गर्यो।
प्लेयर अफ द म्याच ह्याट्रिक फकुन्ले भए र नगद ११ हजार रुपैयाँ पाए।