काठमाडौं। बोरुसिया डर्टमुन्डले दोस्रो वर्ष लगातार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
बुधबार राति लिलेविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा एम्रे कान र म्याक्सिमिलियन बायरले गोल गर्दै जर्मन क्लबलाई २–१ को जित दिलाए। समग्रमा ३–२ को जित हात पार्दै डर्टमुन्डले अन्तिम आठमा स्थान पक्का गर्यो।
अब डर्टमुन्डले सेमिफाइनल प्रवेश गर्न बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ। ‘हामी निकै राहत महसुस गरिरहेका छौं। पहिलो हाफमा हामीले धेरै अवसर सिर्जना गर्यौं। टोलीले दोस्रो हाफमा पनि उच्च गतिमा खेल्दै जित सुनिश्चित गर्यो,’ खेलपछि डर्टमुन्डका मिडफिल्डर सेबास्टियन केहलले भने।
फ्रान्सेली क्लब लिले पहिलोपल्ट च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएको थियो। तर, उक्त आशा समाप्त भयो। यसअघि रियल मड्रिड र एट्लेटिको मड्रिडजस्ता टोलीलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको लिले अन्ततः डर्टमुन्डसँग पराजित हुन पुग्यो।
लिलेका मिडफिल्डर बेन्जामिन आन्द्रे निराश देखिए। ‘हामीले हाम्रो वास्तविक खेल देखाउन सकेनौं। हामी आत्तिएका थियौं, जुन गल्ती भयो,’ उनले भने।
लिलेले खेलको पाँचौं मिनेटमै जोनाथन डेविडको गोलमार्फत अग्रता लिएको थियो। इस्माइलीको कटब्याक पासमा डेविडले सजिलै गोल गरे। डर्टमुन्डका गोलकिपर ग्रेगर कोबेलले गल्ती गर्दै बल खुट्टाबीचबाट जान दिए।
डर्टमुन्डले पहिलो हाफमै केही अवसर सिर्जना गरेको थियो। पस्कल ग्रोसको प्रहारलाई लिलेका डिफेन्डर एलेक्ससान्द्रोले गोललाइनमै रोक्न सफल भए। तरऽ दोस्रो हाफमा डर्टमुन्ड आक्रामक देखियो।
५४औं मिनेटमा एम्रे कानले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। ६५औं मिनेटमा म्याक्सिमिलियन बायरले उत्कृष्ट टर्न लिएर गोल गर्दै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए। त्यसपछि डर्टमुन्डले खेलमा नियन्त्रण राख्दै उत्कृष्ट बचाउ गर्यो।
निक्को कोभाचको टोली (जो बुन्डेसलिगामा १०औं स्थानमा छ) ले लिलेलाई पुनः खेलमा फर्किन कुनै अवसर दिएन। अब डर्टमुन्डले बार्सिलोनासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ, जसले थप रोमाञ्चक खेलको संकेत गर्छ।