काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रूपमा भित्र्याएको छ।
क्लबका अध्यक्ष प्रेम थापाकाअनुसार प्रुडेन्सियलले मुख्य प्रायोजनस्वरुप बाँसबारी क्लबलाई १० लाख रुपैयाँ दिने सम्झौता गरेको हो। जसअनुसार क्लबले नगद सात लाख र तीन लाख बराबरको खेल सामाग्री पाउनेछ।
काठमाडौं महानगरपालिका ३ का अध्यक्षसमेत रहेका थापा र प्रुडेन्सियल इन्स्योरेन्सका चिफ मार्केटिङ म्यानेजर श्रीराम भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
त्यस्तै, क्लबलाई आइएमई ग्रुपले सह प्रायोजन गर्ने भएको छ। उसलाई आइएमईले तीन लाख दिनेछ। क्लबलाई काठमाडौं महानगरपालिका ३ ले पनि पाँच लाख दिएको छ। अध्यक्ष थापाका अनुसार यो सिजनको लागि ५० लाख बढी खर्च हुनेछ।
बाँसबारीले एन्फा कम्प्लेक्स, सातदोबाटोमा बुधबार सरस्वती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै यो सिजनको ‘बी’ डिभिजन लिग सुरुआत गर्दैछ।
नीरन विष्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्लबले ‘ए’ डिभिजनमा उक्लिने लक्ष्य राखेको छ। बाँसबारी पछिल्लो सिजन शीर्ष चारमा रहेको थियो।