काठमाडौं। ब्राजिलियन फरवार्ड राफिन्हाको दुई गोलले बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्याएको छ।
च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले बेन्फिकामाथि ३–१ को जित हात पारेको हो। समग्रमा ४–१ को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
‘हामी तीनवटै प्रतियोगितामा उपाधिका दाबेदार हौं। बेन्फिका बलियो टोली हो, तर हामी हाम्रो योजनामा स्पष्ट थियौं,’ राफिन्हाले भने।
अब बार्सिलोनाले क्वार्टरफाइनलमा लिले र बोरुसिया डर्टमुन्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीले बुधबार दोस्रो लेग खेल्नेछन्, पहिलो लेग जर्मनीमा १–१ को बराबरीमा सकिएको थियो।
राफिन्हाले खेलको ११औं मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि १७ वर्षीय यामालले २७औं मिनेटमा अर्को गोल गर्दै इतिहास रचे। उनले ४२औं मिनेटमा राफिन्हालाई असिस्ट दिँदै च्याम्पियन्स लिगको नकआउट चरणमा गोल र असिस्ट गर्ने सबैभन्दा कान्छो खेलाडी (१७ वर्ष, २४१ दिन) बने।
यो सिजन च्याम्पियन्स लिगमा राफिन्हा ११ गोल गर्दै शीर्ष स्कोरर बनेका छन्। उनले अघिल्लो साता लिस्बनमा भएको खेलमा पनि एक मात्र गोल गरेका थिए।
‘मेरो टोलीका साथीहरूले मलाई धेरै सजिलो बनाइदिन्छन्। मेरो गोल राम्रो थियो, तर कहिलेकाहीँ यस्ता अवसर सफल हुन्छन्, कहिलेकाहीँ हुँदैनन्। असिस्टको क्रममा मैले प्रहार गर्ने सोच बनाएको थिएँ। तर, राफिन्हाले त्यसलाई गोलमा परिणत गरिदिए,’ यमलले भने।
यसै खेलमा बेन्फिकाका डिफेन्डर निकोलस ओटामेन्डीले १३औं मिनेटमा गोल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने तेस्रो जेठा खेलाडी (३७ वर्ष, २७ दिन) बनेका छन्। यामाल भने दोस्रो कान्छा स्कोरर बने।