काठमाडौं। १७ वर्षपछि श्रीलंकाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ।
काठमाडौंमा मंगलबार बसेको साफको बैठकले दक्षिण एसियाली विश्वकप भनेर चिनिने यो प्रतियोगिता यस वर्ष श्रीलंकालाई आयोजना गर्न दिने निर्णय गरेको हो।
फुटबल फेडेरेसन अफ श्रीलंकाका अध्यक्ष जसवार उमरले यसबारे पुष्टि गरेका हुन्। यो प्रतियोगिता जुनमा आयोजना हुने तय गरिएको छ।
श्रीलंकाले अन्तिम पटक सन् २००८ मा माल्दिभ्ससँग मिलेर यो प्रतियोगिता आयोजना गरेको थियो।
हालसम्म भारतले सबैभन्दा बढी चारपल्ट साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ। बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र नेपालमा समान दुईपल्ट प्रतियोगिता आयोजना हुँदा भुटानले भने अहिलेसम्म आयोजक बन्ने मौका पाएको छैन।
श्रीलंकाले सन् १९९५ मा कोलम्बोमा आयोजित साफ च्याम्पियनसिप जितेको थियो, जुन अहिलेसम्मको एक मात्र उपाधि हो।
२०२५ मा घरेलु मैदानमा खेल्ने अवसरलाई सदुपयोग गर्दै श्रीलंका तीन दशकपछि उपाधि जित्ने लक्ष्य राखेको छ। दुई वर्षअघि भारतमा भएको प्रतियोगितामा पाहुना टोली कुवेतलाई हराउँदै घरेलु टोलीले नवौंपल्ट उपाधि जितेको थियो।