काठमाडौं। किलियन एम्बाप्पे र भिनिसियस जुनियरले पहिलो हाफमै पाँच मिनेटको अन्तरालमा गोल गर्दै रियल मड्रिडलाई आइतबार रायो भालेकानोविरुद्ध २–१ को जित दिलाए।
यो जितसँगै रियलले ला लिगाको शीर्ष स्थानमा बार्सिलोनासँग समान ५७ अंक बनायो।
शनिबार बार्सिलोनाको ओसासुनासँगको खेल क्लबका पहिलो टोलीका चिकित्सक कार्लेस मिन्यारो गार्सियाको निधनका कारण स्थगित गरिएको थियो। बार्सिलोनाको सम्मानमा सान्टियागो बर्नाबेउ स्टेडियममा एक मिनेट मौन धारण गरिएको थियो।
बार्सिलोनाले हेड टु हेड नतिजाका आधारमा अझै शीर्ष स्थान सुरक्षित राखेको छ। ‘तीन अंक लिनु नै मुख्य लक्ष्य थियो, त्यसैले राम्रो अनुभूति भइरहेको छ,’ रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भने हामी पहिलो हाफमै ३–० ले अगाडि हुन सक्थ्यौं, तर खेल २–१ मा सकियो। दोस्रो हाफमा पनि ३–१ बनाउने केही अवसरहरू थिए।’
पहिलो हाफको इन्जुरी समयमा पेड्रो डियाजले गोल गर्दै रायो भालेकानोलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, सफल हुन सकेनन्। रायो भालेकानोले पछिल्ला चार ला लिगा खेल जित्न सकेको छैन, जसमा तीन हार र एक बराबरी रहेको छ।
आउँदो बुधबार एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेग खेल्नुपर्ने भएकाले एन्चेलोटीले केही खेलाडी परिवर्तन गरे। पहिलो लेगमा रियल ले २–१ को जित निकालेको थियो।
एन्चेलोटीले खेलको दोस्रो हाफमा एम्बाप्पे र रोड्रिगोलाई बेन्चमा राखे। ‘मलाई फरवार्डहरू बदल्न कुनै समस्या थिएन। खेलको अन्त्यतिर हामीले राम्रोसँग डिफेन्स गर्न आवश्यक थियो,’ उनले भने।