मेलबर्न । यति एफसी फुटबल क्लबले १४ औं संस्करणको कँडेल कन्सल्टेन्सी कपको उपाधि उचालेको छ।
रोयल वेष्टर्न क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो ।
अष्टेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल गरे । आकाश बुढामगर र रवि थिगंले रोयलका लागि गोल फर्काए पनि जित संभव भएन ।
प्लेयर अफ दि फाइनल समेत बनेका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ट्रफी सहित यति एफसीले १२ हजार डलर जितेको छ । उपविजेता रोयलले ४ हजार ५ सय डलरमा चित्त बुझायो ।
यस्तै ३५ वर्ष माथिको प्रतियोगिको फाइनला यतिले नै बाजी मार्यो । यतिले मकआर्थर नेप्लीज क्लबलाई ४-३ गोल अन्तरले हराएको हो ।
यतिका लागि सागर थापा, जुमानु राई, पंकज लामिछाने र युकेश श्रेष्ठले गोल गरे । युकेश प्लेयर अफ दि फाइनल बने । पराजित टिमका लागि अनिल गुरुङले दुई तथा राजेशले एक गोल फर्काए ।
विजेता यतिले २ हजार ५ सय र उपविजेताले १ हजार डलर प्राप्त गरेको छ ।
उपाधिको ब्यक्तिगत विधातर्फ आयोजक टिमकै खेलाडीको बर्चस्व रहयो । यति एफसीका सुमन लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
यतीकै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक र आशिष लामा सर्वाधिक गोलकर्ता बने । उनले ६ खेलमा १० गोल गरे । ३५ बर्ष माथि सागर थापा र अनिल गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते ।
सागर प्रतियोगिताकै उत्कृष्ट घोषित हुँदा यतिकै कवुस आमात्य उत्कृष्ट गोलरक्षक बने । उनीहरु सबैले २ सय डलर हात पारे ।
प्रतियोगितामा अष्ट्रेलियाका बिभिन्न राज्यबाट ४० टिमको सहभागिता रहेको यति एफसी फुटबल क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सज्जन शर्माले बताए ।