काठमाडौं। ओस्मान डेम्बेले बेन्चबाट मैदान छिरेर दुई गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई शनिबार रेनेसमाथि ४–१ को जित दिलाएका छन्।
यससँगै पिएसजीले लिग वानमा आफ्नो अपराजित यात्रा कायम राख्दै दोस्रो स्थानको मार्सेलीसँग १६ अंकको अग्रता बनाएको छ। पिएसजीको २५ खेलबाट ६५ र समान खेलबाट मार्सेलीको ४९ अंक छ।
ब्राड्ली बारकोलाले एक गोल गरे भने अर्को गोलका लागि सहयोग गर्दै पिएसजीलाई सहज जिततर्फ अघि बढाए। यसैबीच मार्सेसीले पछिल्लो खेलमा लेन्सविरुद्ध इन्जुरी टाइममा गोल खाँदै १–० को हार बेहोरेको थियो।
तेस्रो स्थानमा रहेको नाइसले आइतबार लियोनलाई हराउन सके मार्सेलीसँग अंक बराबरी गर्नेछ।
पिएसजीका प्रशिक्षक लुइस एनरिकेले मंगलबार लिभरपुलविरुद्ध च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगअघि कप्तान मार्किन्होसलाई आराम दिए। पिएसजीले पहिलो लेग १–० ले गुमाए पनि खेलमा दबाब कायम गरेको थियो।
पीएसजीले खेलको पहिलो हाफमा नियन्त्रण राखे पनि दोस्रो हाफमा रेनेसले दबाब दिएको थियो। जसका कारण डेम्बेलेको अन्तिम क्षणको गोलले टोलीलाई राहत दिलायो।
बारकोलाले खेलको २८औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। रेनेसका लुडोभिक ब्लासले तुरुन्तै बराबरी गर्ने अवसर पाए, तर चुक्न पुगे। १७ वर्षीय स्ट्राइकर मोहम्मद मेटेको प्रहार क्रसबारमा ठोकिएको थियो।
बारकोलाले दोस्रो हाफको सुरुआतमा नै गोनसालो रामोसलाई उत्कृष्ट पास मिलाउँदै ५०औं मिनेटमा पिएसजीको अग्रता दोब्बर बनाए। तर, तीन मिनेटपछि लिलियन ब्रासियरको गोलले रेनेसलाई खेलमा फर्कायो।
खेलको अन्त्यतिर डेम्बेलेले दुई गोल थप्दै लिग वानमा पहिलोपटक २० गोल पूरा गरे।