विराटनगर। न्युरोड टिम (एनआरटी)लाई स्तब्ध बनाउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड नवौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा चर्च ब्वाइज २–० ले विजयी भएको हो। योसँगै चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न २५औं संस्करणको बुढासुब्बा गोल्डकपको बदला पनि लिएको छ।
माघ २७ गते सम्पन्न फाइनलमा चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो। यो खेलसँगै विराट गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ।
यसअघि विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीसँगै थ्री स्टार अन्तिम चारमा प्रवेश गरिसकेका छन्। चर्च ब्वाइजले अब फाइनल प्रवेश गर्न सोमबार पुलिसलाई चुनौती पेस गर्नेछ।
चर्च ब्वाइजको जितमा विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरे। ३५औं मिनेटमा लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले बललाई पोस्टको दिशा दिए।
६४औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे। दोस्रो हाफपछि उनी चन्दन दासको स्थानमा मैदान प्रवेश गरेका थिए। प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोलकिपर टेकेन्द्रसिंह थापा घोषित भए।
उनले नगद ११ हजार रुपैयाँ हात पारे।