काठमाडौं। नटिङ्घम फरेस्टसँग इङ्लिस प्रिमियर लिगमा शनिबार १–० ले पराजित भएसँगै म्यानचेस्टर सिटीको च्याम्पियन्स लिगको सम्भावना अझ कमजोर बनेको छ।
सिटीको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा केही स्पष्ट मौका मात्र सिर्जना भए। तर, सिटीका गोलकिपर एडर्सन मोराएस नजिकको पोस्टमा विङ्गर क्यालम हड्सन–ओडोईको प्रहार रोक्न असफल भए।
उनले ८३औं मिनेटमा गरेको उक्त गोल नै निर्णायक बन्दा फरेस्टले महत्त्वपूर्ण जित हात पार्यो।
पछिल्लो सिजन रेलिगेसनको जोखिममा परेको फरेस्टले हाल चौथो स्थानमा रहेको सिटीसँगको दूरी चार अंकले बढाएको छ। फोरेस्टको २८ खेलबाट ५१ र सिटीको समान खेलबाट ४७ अंक छ।
पछिल्ला चार सिजन लगातार प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन पाँचौं उपाधि जित्ने दौडबाट लगभग बाहिर भइसकेको छ। अब उसले शीर्ष पाँचमा परेर च्याम्पियन्स लिगको लागि छनोट हुन संघर्ष गर्नुपर्नेछ।
सिटीले सन् २०२४ को अन्त्यमा खराब प्रदर्शन गरेपछि केही सुधार गरेको छ। तर, पछिल्ला पाँच लिग खेलमध्ये तीनमा पराजित बेहोरिसकेको छ। लिभरपुल, आर्सनल र फरेस्टविरुद्ध सिटीले हारको सामना गर्न परेको हो।
फरेस्टले लिगमा अब १० खेल खेल खेल्नेछ। योसँगै सन् १९७९ र १९८० मा ब्रायन क्लफको नेतृत्वमा जितेको युरोपियन कप (हालको च्याम्पियन्स लिग) पुनः खेल्ने सपना पूरा गर्न प्रयास पनि गर्नेछ।
शनिबारको अर्को खेलमा लिभरपुलले अन्तिम स्थानको साउथह्याम्पटनलाई हराएमा दोस्रो स्थानको आर्सनलभन्दा १६ अंकको अग्रता लिनेछ।