काठमाडौं। एफसी खुमलटारलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगको उपाधि हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइज ३–० ले विजयी भएको हो। योसँगै चर्च ब्वाइज लिग च्याम्पियन बन्न सफल भएको हो।
चर्च ब्वाइजले २० खेलबाट ५० अंक पुर्यायो। एक खेल कम खेलेको एपिएफ भने उपविजेतामा सीमित भएको छ।
एपिएफको ४५ अंक छ। यद्यपि, अन्तिम खेल जिते पनि एपिएफलाई दुई अंक कम हुनेछ। खुमलटारले भने १०औं स्थानमा रहेर लिग सक्काएको छ। खुमलटारको २० खेलबाट नौ अंक छ।
चर्च ब्वाइजलाई लिग जिताउन किरण चौधरीले दुई गोल गरे। एक गोल भने उपहार पाएको थियो।
२४औं मिनेटमा किरणको गोलमार्फत चर्च ब्वाइजले सुरुआती अग्रता लिएको थियो। त्यसको नौं मिनेटमै सियोन राईले आत्मघाती गोल गर्दा चर्च ब्वाइज २–० ले अघि रह्यो।
७२औं मिनेट किरणले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित पक्का गरे।