इलाम। विभागीय डर्बीमा नेपाल पुलिसलाई हराउँदै एपिएफ क्लब दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
रश्मिकुमारी घिसिङको निर्णायक गोलमा पुलिसलाई १–० ले पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो।
रश्मिले ३४औं मिनेट गोल गरिन्। अनिता केसीको क्रसमा आएको बल पुलिसकी गोलकिपर उषा नाथले पूर्णरुपमा नियन्त्रणमा लिन नसकेर फुत्किएको बललाई रश्मिले गोल गरेकी हुन्।
एपिएफकी कप्तान अनिता बस्नेत प्लेयर अफ दी म्याच घोषित भइन्। उनलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, आयोजक क्लबका अध्यक्ष ध्रुव राईलगायतले पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरे।
एपिएफले शनिबार अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग फाइनल खेल्नेछ। क्लब ओएसिस इलामले आयोजना गरेको गोल्डकपको विजेताले चार लाख र दोस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ।