सुदूरपश्चिमको लगातार दोस्रो जित
-1763733911749.jpg&w=3840&q=75)
काठमाडौं। साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको हो। सुदूरपश्चिमल दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाउँदै १७५ रन मात्रै बनाउन सक्यो।
योसँगै सुदूरपश्चिम २ खेलबाट ४ अंक जोडेको छ। पोखराको भने यो लगातार दोस्रो हार हो।
पोखराका कुशल भुर्तेलले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। जिम्मी निसमले २५ बलमा २ चौका र ५ छक्कासहित ४७ रन बनाए।
डान डाउथवेटले ३७ रनको योगदान दिए। सुदूरपश्चिमका हर्मित सिंहले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, नरेन साउद र स्कट कुगेलेइनले समान १ विकेट राखे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।
सुदूरपश्चिमका जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए। ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे।
विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन बनाए। क्रिस लिन ३१ र कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट हुँदा अन्यको प्रदर्शन निराशाजनक रह्यो।
पोखराका जिम्मीले सर्वाधिक ३ विकेट लिए। आकाश चन्द र विपिन खत्रीको नाममा समान २ विकेट रह्यो।












