काठमाडौं। फिफाले अमेरिकामा आयोजना हुने पुरुष क्लब विश्वकपमा प्रतिस्पर्धा गर्ने ३२ टिमलाई कुल एक अर्ब डलर पुरस्कार राशि दिने घोषणा गरेको छ।
यो बहुप्रतीक्षित घोषणा प्रतियोगिताको पहिलो खेल मियामीमा सुरु हुनुभन्दा तीन महिना अघि गरिएको हो।
रियल मड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित युरोपका १२ ठूला क्लबले फिफासँग यस प्रतियोगिताबाट १० लाख डलर आम्दानी हुने सुनिश्चितताको माग गर्दै आएका थिए।
फिफाले पुरस्कार राशि वितरणको कुनै निश्चित फारमुला खुलाएको छैन। फिफाका अनुसार प्रतियोगिताबाट कुल दुई अर्ब डलर आम्दानी हुनेछ।
यसमा सोलिडारिटी फन्डिङसमेत समावेश हुनेछ, जसबाट छनोट नभएका क्लबहरूलाई पनि आर्थिक लाभ मिल्नेछ।
फिफाको २०२४ को वित्तीय प्रतिवेदनअनुसार १२ अमेरिकी सहरमा ६३ खेल खेलिने क्लब विश्वकपमा टिकट र आतिथ्य सेवाबाट मात्र ५० करोड डलर आम्दानी हुने अपेक्षा गरिएको छ।
चार सिजनको दौरान महादेशीय क्लब प्रतियोगितामा उपाधि जितेर वा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै क्लबहरू क्लब विश्वकपमा छनोट भएका हुन्। फिफाले आयोजक राष्ट्रको प्रतिनिधित्व गर्ने रूपमा लिओनल मेसीको क्लब इन्टर मियामीलाई आमन्त्रण गरेको छ।
यो क्लबले मेजर लिग सकर (एमएलएस) मा नियमित सिजनमा उत्कृष्ट प्रदर्शन गरेको कारण यो अवसर प्राप्त गरेको हो। फिफाले २०२४ मा अध्यक्ष जियानी इनफान्टिनोको आधारभूत तलब २.९२ मिलियन डलर भएको जनाएको छ। यो रकम २०२३ को तुलनामा एक लाख ५७ हजार डलर बढी हो।
इनफान्टिनोलाई १.८५ मिलियन डलर बोनस दिइएको छ, जसले गर्दा उनको कुल वार्षिक आम्दानी ४.७७ मिलियन डलर पुगेको छ। फिफाले २०१६ मा इनफान्टिनो अध्यक्ष बनेपछि पारदर्शिता सुधारका लागि तलब विवरण सार्वजनिक गर्न थालेको हो।