काठमाडौं। बायर्न म्युनिखका गोलकिपर म्यानुएल नोयरले बुधबार बायर लिभरकुजेनविरुद्धको ३–० को जितमा गोल ‘सेलिब्रेट’ गर्दा चोट बोकेका छन्।
च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को खेलमा यो घटना भएपछि २१ वर्षीय जोनास उर्बिगलाई बायर्नले डेब्यु गराएको थियो। कोलोनबाट ‘विन्टर’ सिजनमा बायर्नमा अनुबन्ध भएका हुन्।
५८औं मिनेटमा दायाँ खुट्टाको घुँडामा चोट बोकेपछि नोयरले मैदान छोडेका हुन्। जमाल मुसियालाले दोस्रो गोल गरेपछि नोयरले आधा मैदाननजिक हल्का उफ्रँदै ‘सेलिब्रेट’ गरेका थिए, त्यो गर्दा उनी घाइते भए।
‘यस्तो कहिलेकाहीं हुन्छ,’ बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले भने, ‘यो हामीलाई दुर्भाग्यपूर्ण लागेको छ, तर हामी सधैं टोलीको सामूहिक प्रयासको कुरा गर्छौं। हामी यहाँसम्म यही कारण आइपुगेका हौं र यही तरिकाले अघि बढ्नेछौं। यदि उर्बिग खेल्छन् भने हामी त्यसबारे चिन्ता गर्ने छैनौं।’
नोयर मैदान बाहिरिएपछि उर्बिगले गोलपोस्ट सम्हाले। तर, उनलाई खासै काम गर्नुपरेन। बायर्नले खेलमा आफ्नो दबदबा कायम राख्यो। लिभरकुजेनका नोडी मुकिएल दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बायर्न झन् बलियो देखियो।
७५औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत टोलीका लागि तेस्रो गोल तथा आफ्नो व्यक्तिगत दोस्रो गोल पूरा गरे। यो सिजन लिभरकुजेनविरुद्धको खेल नोयरका लागि दोस्रो चोटिलो अनुभव रह्यो।
डिसेम्बरमा जर्मन कपको खेलमा लिभरकुजेनविरुद्ध उनले रातो कार्ड पाएर मैदान छोड्नुपरेको थियो। उक्त खेलमा बायर्न १–० ले पराजित भएको थियो, जुन नोयरको खेल जीवनमा पहिलो रातो कार्ड थियो।
बुधबारको जित बायर्नका लागि सात खेलपछि लिभरकुजेनविरुद्धको पहिलो जित रह्यो। लिभरकुजेन बायर्नका पूर्वखेलाडी जाबी अलोन्सोको प्रशिक्षणमा उत्कृष्ट लयमा रहेको थियो।
अब दोस्रो लेग आउँदो मंगलबार लिभरकुजेनको घरेलु मैदानमा हुनेछ। नोयर पुनः खेल्न सक्ने वा नसक्ने भन्ने कुरा अझै अनिश्चित छ।