काठमाडौं। युभेन्टसले सिरी ‘ए’ मा सोमबार राति सम्पन्न खेलको पहिलो हाफमा केही तनावपूर्ण क्षणहरू सामना गरेको थियो। तर, दोस्रो हाफमा पुनरागमन गर्दै भेरोनालाई २–० ले पराजित गर्यो।
खेलको पहिलो हाफमा खेफ्रेन थुराम, फेडेरिको गाट्टी र रान्डल कोलो मुआनीले गोल गर्ने अवसर प्राप्त गरेको थियो। तर, कोही पनि सफल हुन सकेनन्। भेरोनाका टोमास सुसलोभले ३० यार्ड टाढाबाट सानदार प्रहार गर्दै गोल गरेका थिए। तर, अफसाइडका कारण गोल मान्य भएन।
पहिलो हाफमा संघर्ष गरे पनि युभेन्टसले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ७२औं मिनेटमा युभेन्टसले बहुप्रतीक्षित अग्रता लियो।
भेरोनाका १० खेलाडी आफ्नो पेनाल्टी क्षेत्रमा भए पनि डिफेन्सले थुरामलाई मार्क गर्न सकेन। उनले आन्द्रेया क्याम्बियासोको पासलाई सुन्दर तरिकाले जाली चुमाए।
खेल सकिन एक मिनेट बाँकी रहँदा टेउन कूपमाइनर्सले अर्को गोल गर्दै युभेन्टसलाई २–० को सुरक्षित जित दिलाए।
यो जितसँगै युभेन्टस सिरी ‘ए’ मा पाँचौं लगातार जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ। २७ खेलबाट ५४ अंक पुर्याएको युभेन्टस लाजियोभन्दा दुई अंकले अघि छ। भेरोना १४औं स्थानमा रहँदै रेलिगेसन जोनभन्दा चार अंक मात्र माथि छ।