काठमाडौं। गोलकिपर माट्ज सेल्सले निर्णायक पेनाल्टी बचाउँदै सोमबार नटिङ्घम फरेस्टलाई एफए कपको क्वार्टरफाइनलमा पुर्याएका छन्।
सिटी ग्राउन्डमा इप्सविच टाउनविरुद्ध भएको रोमाञ्चक खेल ९० मिनेट र अतिरिक्त समयपछि १–१ को बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा सुरुआती नौ खेलाडीले सफलतापूर्वक गोल गरे।
तर, अन्तिम पेनाल्टीमा सेल्सले आफ्नो बाँयातर्फ डाइभ गर्दै ज्याक टेलरको प्रहार रोकेर फरेस्टलाई ५–४ को जितसहित क्वार्टरफाइनलमा ब्राइटनविरुद्धको भिडन्त निश्चित गराए।
खेलपछि उनले भने,‘यो मात्र एउटा पेनाल्टी हो, जसमा म सही दिशामा गएँ! पेनाल्टीमा एक न एक गोलकिपर नायक बन्छ। म निकै खुसी छु। अब आउने खेलको प्रतीक्षा गर्दैछु।’
खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जसले प्रिमियर लिगको अंकतालिकाभन्दा भिन्न चित्र प्रस्तुत गर्यो। फरेस्ट लिगको आश्चर्यजनक टोलीमध्ये एक हो। चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडभन्दा अगाडि रहँदै तेस्रो स्थानमा छ।
तर, लिग तालिकाको पुछारतिर रहेको इप्सविचले दोस्रो हाफको आठौं मिनेटमा जर्ज हर्स्टको हेडरमार्फत अग्रता लियो। रायन येट्सले एन्टोनी इलाङ्गाको क्रसलाई उत्कृष्ट हेडरमार्फत जाली चुमाएपछि फरेस्ट खेलमा फर्किएको थियो।
येट्सले अर्को गोल गरे पनि अफसाइडका कारण रद्द गरियो भने क्यालम हडसन–ओडोईको लामो दूरीको प्रहार बारमा ठोक्कियो। दुवै टोलीले अतिरिक्त समयमा जित निकाल्ने प्रयास गरे तापनि अन्ततः खेल पेनाल्टीमा पुगेको थियो।