इलाम। डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लबमाथि ४–० जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब सोमबार दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
इलामको ठूलो टुँडिखेलमा जारी प्रतियोगितामा आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारीले दुई तथा विमला चौधरी र सुमित्रा योञ्जनले समान एक गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा विमलाको गोलबाट आर्मीले अग्रता लिएको थियो। चन्द्रा ५७ र ७६औं मिनेटमा गोल गर्दै आर्मीलाई सहज जिततर्फ डोर्याइन्।
६९औं मिनेटमा सुमित्राले गोल गरेसँगै आर्मी ४-० ले विजयी भयो। प्लेयर अफ द म्याच आर्मीकी चन्द्रा घोषित भइन्। क्लब ओएसिसले आयोजना गरेको गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा मंगलबार सशस्त्र प्रहरीको एपिएफले उत्तर प्रदेश राज्यको मदर टेरेसा एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ।
गोल्डकपको विजेताले नगद चार लाख र उपविजेताले दुई लाखमा रुपैयाँ प्राप्त गर्नेछ। फाइनल खेल फागुन २४ गते हुनेछ।