इलाम। दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन मानेभन्ज्याङ फुटबल क्लब भारतले विभागीय टिम त्रिभुवन आर्मीसँग खेल्दैछ।
पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका दुई टोलीबीचको खेल प्रतिष्ठाको लडाइँको रूपमा रहेको छ। यी टोलीलाई उपाधिको दाबेदारको रूपमा हेरिएको छ।
नेपाली राष्ट्रिय टिमका खेलाडीले आर्मीको टिम भरिएको छ। उता मानेभन्ज्याङले समेत राष्ट्रिय र प्रदेशस्तरका टिमबाट खेलेका खेलाडीलाई मैदान उतार्दै आएको छ। आर्मीबाट पूर्वराष्ट्रिय खेलाडी अन्चली वाइवा, शर्मिला थापा, इन्दिरा राई, दीपा राई उत्रिँदैछन्।
यसै साता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न इन्टरनेसनल वुमेन्स कपमा खेलेका गोलरक्षक अञ्जना राना मगर, विमला विक, विमला चौधरी र चन्द्रा भण्डारीसमेत आर्मीको जर्सीमा मैदान उत्रिनेछन्।
मानेभन्ज्याङले माल्दिभ्सविरुद्ध भारतको राष्ट्रिय टिमबाट खेलेकी सिम्रन गुरुङसहित नर्थ इस्टको अरुणाचल, आसाम, मेघालयका ६ जना खेलाडी टिममा राखेको छ। सिक्किमका तीन, कलकत्ताका दुई र बाँकी खेलाडी दार्जिलिङको छन्।
अघिल्लो संस्करणमा इलामको दीपेन्द्रशिखर फुटबल क्लबलाई हराउँदै उपाधि जितेको मानेभन्ज्याङलाई नेपाली राष्ट्रिय खेलाडीले भरिएको आर्मीविरुद्ध प्रतिष्ठा जोगाउन चुनौती हुने देखिएको छ। उता आर्मीलाई समेत आफ्ना खेलाडीहरू अब्बल छन् भन्ने प्रमाणित गर्न मानेभन्ज्याङविरुद्ध दबाब हुनेछ।
आर्मी खेलाडीलाई इलामको मैदानको अनुभव छ। दीपा, इन्दिरालगायतका खेलाडीले २०७० सालमा इलामको ठूलो टुँडिखेलमा आयोजित प्रथम लुम्बिनी कप महिला राष्ट्रिय लिग खेलेका थिए। त्यस समयको भन्दा यसपल्ट मैदानको अवस्था केही फरक छ। जसले गर्दा मैदानबारे बुझ्न समय लाग्ने देखिएको छ।
मानेभन्ज्याङका केही खेलाडीहरू उपाधि जित्दा टिममा रहेका र नयाँ खेलाडीहरूको मिक्स टिम भएकाले केही असहज पक्कै हुनेछ। घाँसे मैदानमा प्रशिक्षण गरेको आर्मीलाई इलामको सुख्खा मैदानमा खेल्न सहज हुने देखिदैन।
आर्मी गत माघमा सम्पन्न एन्फा महिला लिगमा तेस्रो स्थानमा सीमित बनेको थियो। आर्मीको गोलपोस्ट नेपाली राष्ट्रिय टिमको दोस्रो रोजाइकी गोलकिपर अञ्जना रानामगरले सम्हाल्नेछिन्। आर्मीलाई एएफसी बी लाइसेन्स प्रशिक्षक कृष्णसिंह ठगुन्नाले प्रशिक्षण दिएका छन्।
महिला लिगका शीर्ष चार क्लब इलामको मैदानमा सहभागी छन्। चौथो स्थानको बागमती दोस्रो क्वार्टरफाइनलमा पुलिससँग टाइब्रेकरमा पराजित बन्दै बाहिरिएको थियो। शीर्ष स्थानमा रहेको एपिएफले मंगलबार खेल्दैछ।