खेल्न सक्लिन् त साम्बा?

काठमाडौं। वेलिङ्टन फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टमनले यस साताको निन्जा ‘ए’ लिग खेलअघि स्टार स्ट्राइकर सबित्रा ‘साम्बा’ भण्डारीबारे सकारात्मक जानकारी दिएकी छन्।
घुँडाको चोटका कारण गएको साता खेल गुमाएकी नेपाली सेनसेसन साम्बालाई आइतबार मेलबर्न भिक्टोरीविरुद्धको राउन्ड ४ को खेलका लागि फिनिक्सले टोलीमा समावेश गरेको छ। खेल पोरीरुआ पार्कमा स्थानीय समयअनुसार बिहान ८:४५ बजे हुनेछ।
प्रिस्टमनले पत्रकारसँग साम्बाको अवस्थाबारे भनिन्,‘हामीसँग अझै एक सत्र बाँकी छ। उनले आजको सम्पूर्ण प्रशिक्षण पूरा गर्न सकिनन्। त्यसैले हामी क्रमशः मूल्यांकन गर्दैछौं। शनिबारको अन्तिम सत्रपछि मात्र पूर्ण स्पष्टता हुन्छ। तर, यदि यो हप्ता नभए पनि अन्तर्राष्ट्रिय ब्रेकपछि उनी फर्कन्छिन् भन्नेमा मलाई कुनै शंका छैन।’
साम्बा फर्किने तयारीमा रहेपनि फिनिक्सलाई दुई ठूला धक्का लागेका छन्। मिडफिल्डर टेसल मिडाग र एलिसा हिन्ह्याम दुवैले एसीएल चोटका कारण बाँकी सिजन खेल्न नपाउने भएका छन्। डच खेलाडी मिडागले तेस्रोपल्ट एसीएल चोट बोकेकी हुन्।
प्रिस्टमनले भनिन्,‘म उनीहरूका लागि अत्यन्तै दुखी छु। करिअरका फरक–फरक मोडमा रहेकाहरूलाई यस्तो ठूलो चोट लाग्नु निकै दुर्भाग्यपूर्ण हो। तीनपटक एसीएलबाट फर्किनु कति कठोर हुन्छ, त्यसको अनुमान गर्न गाह्रो छैन। एलिसा त प्रि–सिजनमै अर्को स्तरमा पुगेझैं लागिरहेको थियो।’
उनका अनुसार चोटले टोलीमा ठूलो खालीपन बनाएको छ र क्लबले सम्भावित विकल्प खोज्ने प्रक्रियामा छ। महिलाहरूमा बढ्दै गएको एसीएल चोटसम्बन्धी प्रश्नमा प्रिस्टमनले फिनिक्सले रोकथामका कार्यक्रममै गरेको लगानी प्रशंसनीय रहेको बताइन्।
उनले भनिन्,‘दुई खेलाडीलाई एसीएल भएपछि सबैजना संकट भन्ने मनोवृत्तिमा जान सक्छन्। तर, क्लबले प्रिह्याबदेखि जिम कार्यक्रमसम्म धेरै परिश्रम गरिरहेको छ। कतिपय कुरा दुर्भाग्य पनि हुन सक्छ। महिला खेलाडीमा जोखिम बढी हुन्छ भन्ने विज्ञानले बताउँछ। पछिल्ला ५–१० वर्षमा खेलको तीव्रता र क्यालेन्डर दुवै बढेकाले पनि चोटका घटना बढेका छन्।’
प्रिस्टमनका अनुसार विश्वभर महिला फुटबलमा एसीएल चोटबारे फिफा र थुप्रै क्लबले संयुक्त अध्ययन गरिरहेका छन्। साम्बा सम्भावित रूपमा फर्कने संकेतसँगै फिनिक्सले गत सिजनका उपविजेता र अहिले तालिकाको शीर्षमा रहेको मेलबर्न भिक्टोरीविरुद्ध पहिलो जित खोज्दै मैदानमा उत्रनेछ।










-1763733911749.jpg&w=3840&q=75)



