काठमाडौं। महिला फुटबलकी पहिलो मिलियन डलर खेलाडी नाओमी गिर्माले आइतबार चेल्सीको लागि आफ्नो डेब्यु खेलमा चोट बोकेकी छन्।
२४ वर्षीय अमेरिकी डिफेन्डर गिर्मालाई ५९औं मिनेटमा मैदानबाट निकालिएको थियो। चेल्सीले ब्राइटनसँग २-२ को बराबरी खेलेको उक्त खेलमा उनको चोटको गम्भीरता तत्काल स्पष्ट थिएन।
चेल्सी प्रशिक्षक सोनिया बोम्पास्टोरले भनिन्, ‘हामी उनको चोटको मूल्यांकन भोलि गर्नेछौं। अहिले अवस्था गम्भीर देखिएको छैन। तर, विस्तृत परीक्षणपछि मात्र थाहा हुन्छ।’
गिर्मा यस वर्ष जनवरीमा सान डिएगो वेभबाट चेल्सीमा नौ लाख पाउन्ड (करिव १.१ मिलियन डलर) मा भित्रिएकी थिइन्। यो रकमले गत वर्ष बे एफसीले मड्रिड सीएफएफबाट जाम्बियन स्ट्राइकर रेचल कुन्दानान्जीलाई अनुबन्ध गर्न तिरेको सात लाख ८८ हजार डलबको कीर्तिमानी भंग गरेको थियो।
उनलाई महिला सुपर लिग खेलमा नथाली ब्योर्नले प्रतिस्थापन गरिन्। बोम्पास्टोर थप भन्छिन्,‘गिर्मा अहिले लिग, टोली र आफ्ना नयाँ साथीहरूलाई बुझ्दैछिन्। पहिलो खेल सधैं सजिलो हुँदैन किनभने यो प्रतिस्पर्धात्मक लिग हो।’
पाँच पटकको महिला सुपर लिग विजेता चेल्सीले खेल बराबरीमा टुंग्याउन सफल रह्यो। चेल्सीले खेलको १६औं मिनेटमा स्यान्डी बाल्टिमोरको गोलमार्फत अग्रता लिएको थियो। तर, ब्राइटनले २२औं मिनेटमा मारिस ओलिस्लागेर्स र ४२औं मिनेटमा भिक्की लोसाडाको गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो।
चेल्सीका लागि ६१औं मिनेटमा लरेन जेम्सले बराबरी गोल गरेपछि टोलीले एक अंक बचाउन सफल रह्यो। यस बराबरीपछि चेल्सी म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा रहेको छ।