प्रिमियर लिग जित्ने युनाइटेडको लक्ष्य !

काठमाडौं। एफए कपमा लिभरपुल, आर्सनल र चेल्सीजस्ता ठूला क्लब बाहिरिइसकेका छन्। त्यसैले म्यानचेस्टर युनाइटेडलाई गत सिजनको उपाधि रक्षा गर्ने अवसर जुरेको थियो।
तर, आइतबार भएको खेलमा फुलह्यामसँग पेनाल्टी सुटआउटमा ४–३ को हार व्यहोर्दै युनाइटेड पाँचौं चरणबाट बाहिरिएको छ।
यस हारमा दुःख व्यक्त गर्नुको साटो युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले आफ्नो लक्ष्य अझ ठूलो उपाधि जित्ने रहेको बताए।
‘अहिले हामी खेल र उपाधि गुमाइरहेका छौं। तर, हाम्रो मुख्य लक्ष्य फेरि प्रिमियर लिग जित्नु नै हो। मलाई थाहा छैन यो कति समय लाग्छ, तर हामी निरन्तर अघि बढ्नेछौं,’ उनले भने।
ओल्ड ट्राफोर्डमा भएको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। युनाइटेडका विक्टर लिन्डलफ र जोशुआ जिर्क्जीले पेनाल्टी मिस गरेपछि फुलह्याम जित निकाल्न सफल रह्यो। फुलह्यामका गोलकिपर बेरन्ड लेनो नायक बने। उनले महत्त्वपूर्ण बचाउ गर्दै आफ्नो टोलीलाई क्वार्टरफाइनलमा प्रवेश गराए।
खेलमा फुलह्यामका क्याल्भिन बास्सीले पहिलो हाफको अन्त्यतिर गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्याए।
तर, अतिरिक्त समयमा युनाइटेडले खेलमा फर्कने मौका पाए पनि फुलह्यामका गोलकिपर लेनोको उत्कृष्ट प्रदर्शनले युनाइटेडलाई पराजित गरायो।
युनाइटेडले अन्तिम पटक प्रिमियर लिग २०१२–१३ सिजनमा जितेको थियो। अमोरिमले पुनः लिग उपाधि जित्ने सपना देखे पनि हालको अवस्थाले त्यो धेरै टाढा रहेको देखाएको छ।
हाल युनाइटेड लिग तालिकाको १४औं स्थानमा छ र शीर्ष १० मा पनि पर्न गाह्रो देखिन्छ। पोर्चुगाली प्रशिक्षक अमोरिम नोभेम्बरमा टोलीको जिम्मेवारी सम्हाल्न आएका थिए। तर, उनको सुरुआत निकै कठिन भएको छ।
फुलह्यामविरुद्धको खेलमा टोलीले पहिलो हाफमा कुनै प्रभाव पार्न सकेन। जसका कारण घरेलु समर्थकहरूले बास्सीको गोलपछि गुनासो गरे।
दोस्रो हाफमा कप्तान फर्नान्डेजले ७१औं मिनेटमा कमालको फिनिश गर्दै युनाइटेडलाई खेलमा फर्काए। त्यसपछि युनाइटेडले जित्ने अवसर पनि पाएको थियो। एलेजान्ड्रो गार्नाचोलाई लेनोले स्टपेज टाइममा रोकिदिए भने अतिरिक्त समयमा चिडो ओबीको प्रहार पनि उनले रोक्न सफल भए।
‘युनाइटेडसँग केही अवसरहरू थिए, तर मलाई लाग्छ हामी नै आज राम्रो टोली थियौं,’ फुलह्यामका प्रशिक्षक मार्को सिल्भाले भने, ‘हामीले खेलमा बल नियन्त्रणमा राख्यौं। हाम्रो खेल उत्कृष्ट रह्यो र हामी अगाडि बढ्न योग्य रह्यौं।’










-1763733911749.jpg&w=3840&q=75)



