बाँके। गोलकिपर प्रतीक सुनारको उत्कृष्ट प्रदर्शनसँगै राइजिङ स्टार फुटबल क्लब नवलपरासीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बाँकेको कोहलपुरमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा भारतको सहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४–३ ले पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टीमा गएको थियो। पेनाल्टीमा गोलकिपर प्रतीक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
सुनारले सहाराका तीन वटा पेनाल्टी बचाए। उनी म्यान अफ द म्याच घोषित भए र पाँच हजार रुपैयाँ प्राप्त गरे।