काठमाडौं। नेपाली समर्थकलाई कौतुहल्ता लागिरहने एकै प्रश्न हो– के हाम्रो राष्ट्रिय टोलीले पनि विश्वकप खेल्न सक्छ? नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको पाँच दशकभन्दा बढी भइसकेको छ।
तर, आठपल्ट छनोट खेलिसकेको नेपालले त्यो उपलब्धी हासिल गर्न सकेको छैन। नेपाल भ्रमणमा आएका फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन यसका पछाडि नेपाली टोलीमा मिहिनेतको कमी र लगानी अभाव रहेको तर्क गर्छन्।
आइतबार काठमाडौं ओर्लिएका उनले भने, ‘नेपाल पनि विश्वकप र एसिया कप खेल्न सक्छ। र, म खेलेको पनि हेर्न चाहन्छु। त्यसका लागि धेरै मिहिनेत र लगानी चाहिन्छ। ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन अवश्य पूरा हुन्छ।’
४७ वर्षीय बफोनले सन् १९९१ मा पार्माको युवा टोलीबाट फुटबल करिअर सुरुआत गरेका थिए। त्यसको ३२ वर्षपछि अर्थात सन् २०२३ मा सोही क्लबको सिनियर टोलीबाट फुटबल करिअर अन्त्य गरेका हुन्।
उनी ४५ वर्षको उमेरसम्म फुटबलमा सक्रिय थिए। त्यसक्रममा उनले ११ सयभन्दा बढी खेलमा पोस्ट सम्हालेका छन्। क्लब करियरमा मात्रै उनले ७५४ खेल खेलेका छन्। तीमध्ये सबैभन्दा बढी उनले सिरी ‘ए’ क्लब युभेन्ट्सबाट ५०९ खेल खेलेका छन्।
यसबाहेक उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट पनि व्यवसायिक लिग खेलेका छन्। उनले १९९७ देखि २०१८ सम्म इटालीको राष्ट्रिय फुटबल टोलीको पोस्ट सम्हालेका थिए।
उनले इटालीबाट सन् २००६ को विश्वकप जितेका थिए भने २०१२ मा इटालीलाई युरोकपमा उपविजेता बनाएका थिए। उनी ३२ वर्षसम्म फुटबलमा टिक्नुको राज भनेकै कठिन मिहिनेत रहेको बताउँछन्।