काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले आगामी अप्रिलमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्ने भएको छ।
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा बुधबार मात्रै म्यानमारसँग २–० ले पराजित भएको नेपालले अबको तीन महिनामा एएफसी एसियन कप २०२६ को छनोट खेल्दैछ।
त्यसैको तयारीस्वरुप नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण फुटबल खेल्ने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। ‘पहिला फिफा विन्डोहरू खेर जान्थ्यो। अब त्यसलाई खेर नफ्याँक्ने योजना छ। अब खेलाएको खेलाइ गर्नेछौं। त्यो भयो भने सबै खेलाडी तयार हुन्छन्। त्यसैले मैत्रीपूर्ण खेल खेल्ने छौं,’ उनी सुनाउँछन्।
तर, उक्त प्रतियोगिता घरेलु मैदानमै हुन्छ या बाहिर हुन्छ भन्नेबारे अझै टुंगो लागिसकेको छैन। एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोट जुन २३ देखि जुलाई ५ सम्म हुने तय छ। एएफसीका अनुसार छनोटका खेलहरू अन्तर्राष्ट्रिय विन्डोमा हुनेछ।
नेपालले एएफसी एसियन छनोटकै लागि फेब्रुअरीको विन्डोमा किर्गिस्तान, म्यानमार र लेबनानलाई घरेलु मैदानमा बोलाएर प्रतियोगिता खेलेको हो।
लिग चरणमा किर्गिस्तान र लेबनानमाथि समान १–० को जित निकालेको नेपालले ६ वर्षपछि म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो। तर, त्यसको तीन दिनपछि सोही मैदानमा भएको फाइनलमा भने नेपालले २–० को नमिठो हार बेहोर्न पर्यो। योसँगै नेपाल एकै वर्षमा तेस्रोपल्ट उपविजेता बनेको हो।
गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो। गत कात्तिकमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि बंगालदेशसँग नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सिमित भएको हो।
अब नेपाल यी तीन फाइनलको हार भुलेर एएफसी एसियन कप छनोटको तयारीमा लाग्ने प्रशिक्षक राजेन्द्र बताउँछन्।
‘एन्फाको योजनाअनुसार चल्न सक्यौं भने हाम्रो खेलाडी अलिक बलियो हुन्छ। एकजुट हुन पनि सहयोग पुग्छ,’ उनले सुनाए, ‘त्यसलाई सदुपयोग गर्न सक्यौं भने एसियन कप छनोट खेल्न सकिन्छ सकिन्छ होला।’