धनगढी। टाइब्रेकरमा सुदूरपश्चिम प्रदेश फुटबल एसोसिएसनलाई पराजित गर्दै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले जय पृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
कैलालीको धनगढीस्थित गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा बुधबार सम्पन्न खेलमा टाइब्रेकरमा राइजिङले ५–३ को जित निकालेको हो। उपाधिसँगै राइजिङले पाँच लाख रुपैयाँ हात पारेको छ। उपविजेता सुदूरपश्चिमले दुई लाख ५० हजारमा चित्त बुझाएको छ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि उपाधिको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो।
टाइब्रकेरमा राइजिङका अविनाश तामाङ, करण योगी, चेतन थारु, दीपकराज सिंह र रजित चौधरीले गोल गरे। सुदूरपश्चिमका हिमाल सिंह, विमल ओली र नरेन्द्र चौधरीले गोल गरे। कुम्भ देउवाले भने गोल गर्न सकेनन्।
फाइनल खेलको म्यान अफ द म्याच राइजिङका प्रतिक सुनारा घोषित भए। प्रतियोगिताको उदीयमान खेलाडी सुदूरपश्चिमका अभिषेक बम र सर्वोउत्कृष्ट खेलाडी नरेन्द्र चौधरी रहे। अभिषेकले १५ हजार र नरेन्द्रले ५० हजार रुपैयाँ प्राप्त गरे।
उत्कृष्ट प्रशिक्षक कर्णालीका सुन्दर पोखरेल हुँदा उत्कृष्ट डिफेन्डर रञ्जित र उत्कृष्ट गोलकिपर प्रतिक सुनारा रहे। रञ्जित र प्रतिक राइजिङका खेलाडी हुन्।
उच्च गोलकर्ता सुदूरपश्चिमका श्याम बियाडी रहे।