काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुयनको सफल दशक यो सिजनको अन्त्यसँगै टुंगिन सक्ने सम्भावना छ।
३३ वर्षीय बेल्जियन मिडफिल्डरलाई प्रिमियर लिग इतिहासका महान् मिडफिल्डरमध्ये एक मानिन्छ। तर, गत १८ महिनामा उनको प्रदर्शनमा गिरावट आएको देखिएको छ।
चोटका कारण लगातार दोस्रो सिजन प्रभावित हुँदा उनले मात्र सात खेल पूर्ण ९० मिनेट खेलेका छन्। यस सिजन उनले २५ लिगमध्ये १२ खेलमा सुरुआत गरेका छन्। उनले दुई गोल गर्दै ६ असिस्ट गरेका छन्।
गत आइतबार प्रिमियर लिगका शीर्ष स्थानमा रहेको लिभरपुलसँग २–० को हार बेहोरेको खेलमा उनको फिका प्रदर्शनका कारण आलोचना भएको थियो।
कुनै समय ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डे ब्रुयनलाई हाल मेजर लिग सकर (एमएलएस) वा साउदी प्रो लिगमा आकर्षक सम्झौतासहित जान सक्ने अनुमान गरिएको छ।
डे ब्रुयन सिटीमा पेप ग्वार्डिओलाभन्दा एक वर्ष अगाडि आएका थिए। उनीहरूबीच राम्रो सम्बन्ध रहेको ग्वार्डिओलाले बताएका छन्।
तर, मंगलबार पत्रकार सम्मेलनमा सोधिएको केभिनको भविष्यबारे निर्णयमा तपाईंको र उनको सम्बन्धले के भूमिका खेल्छ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो कुराले केही फरक पार्दैन। हामी एक–अर्कालाई राम्रोसँग चिन्छौं र हामी एकदम इमानदार छौं।’
उनले थपे,‘यो निर्णय लिने सबभन्दा महत्त्वपूर्ण कुरा केभिन आफैंको हो। उनी आफ्नो अवस्थाबारे पूर्ण रूपमा इमानदार छन्, उनले के गर्न सक्छन् र कस्तो महसुस गर्छन् भन्ने कुरा आफैंले तय गर्नेछन्। उनी यस समरमा ३४ वर्षका हुँदैछन् र उनी आफैंले निर्णय गर्नुपर्छ, जसरी डेभिड सिल्भासँग भएको थियो।’
डे ब्रुयन मात्र होइन, सिटीका अन्य केही अनुभवी खेलाडीहरूको भविष्यबारे पनि प्रश्नहरू उठिरहेका छन्। हाल प्रिमियर लिगको पाँचौं लगातार उपाधि जित्ने लक्ष्य पूरा गर्न नसक्दा टिममा परिवर्तन आउन सक्ने चर्चा चलेको छ।
तर, ग्वार्डिओला भने अर्को सिजनको लागि ठूलो टिम तयार गर्न चाहन्छन्, जसका लागि नयाँ खेलाडी ल्याउने मात्र होइन अनुभवी खेलाडीहरूलाई पनि जोगाइराख्नु आवश्यक छ।
‘क्लबले नयाँ खेलाडी ल्याउनैपर्छ, तर हाम्रो टिमका खेलाडीहरूलाई जति सक्दो राख्न पनि जरुरी छ। क्लब विश्वकपपछि तुरुन्तै अर्को सिजन सुरु हुने भएकाले आगामी सिजन अझै कठिन हुनेछ। त्यसैले हामीसँग ठूलो र बलियो टोली आवश्यक छ,’ उनले भने।