काठमाडौं। नेयमार अझै पनि विश्व फुटबलका सबैभन्दा लोकप्रिय खेलाडीहरूमध्ये एक हुन्।
साउदी अरबको क्लब अल–हिलालसँगको सम्झौता अन्त्य भएपछि ३३ वर्षीय फरवार्ड आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका छन्।
नेयमार पुनः उत्कृष्ट लयमा फर्किएका छन्। उनले साउदी लिगमा खेलेका डेढ वर्षमा गोल तथा असिस्ट योगदान गरेका छन्। यसै क्रममा ब्राजिल राष्ट्रिय टोलीमा पुनः फर्किने सम्भावनाबारे उनले बोलेका छन्।
इन्टर डि लिमेइरासँगको खेलपछि उनले राष्ट्रिय टिममा फर्कन चाहेको कुरा व्यक्त गरे। ‘म एक एक खेल गर्दै अघि बढिरहेको छु। शारीरिक रूपमा सुधार गरिरहेको छु। १९ वर्षको उमेर फेरि आउँदैन। तर, म राम्रो महसुस गरिरहेको छु। राष्ट्रिय टिममा फर्किने हरेक खेलाडीको सपना हुन्छ,’ उनले भने।
सान्तोसमा पुनः राम्रो लय समातेका उनले दुई गोल गरिसकेका छन्। त्यसैले पनि उनी फेरि ब्राजिलको जर्सी लगाउन आतुर रहनु स्वाभिक नै हो।
‘मैले जहिले पनि मेरो उत्कृष्ट प्रदर्शन दिन खोजेको छु। म राष्ट्रिय टिमलाई प्रेम गर्छु, ब्राजिलका लागि खेल्न पाउँदा रमाइलो लाग्छ। यदि मौका मिल्यो भने म खुसीका साथ टिमलाई प्रतिनिधित्व गर्नेछु,’ उनले भने।
ब्राजिलले मार्चमा विश्वकप छनोट २०२६ अन्तर्गत दुई खेल खेल्नेछ। मार्च २० ब्राजिलले घरेलु मैदानमा कोलम्बियालाई स्वागत गर्नेछ। मार्च २५ मा अर्जेन्टिनासँग अवे खेल खेल्नेछ। त्यसैले प्रश्न उठ्छ– लिओनल मेसी भर्सेस नेयमार पुनः सम्भव छ त?
यदि ब्राजिलको मुख्य प्रशिक्षक डोरिवाल जुनियरले उनलाई बोलाए यी खेलहरूमा नेयमारको पुनरागमन र मेसीविरुद्ध खेलेको देख्न सकिनेछ।
नेयमारले अन्तिम पटक सन् २०२३ अक्टोबर १७ मा उरुग्वेविरुद्ध खेलेका थिए। उक्त खेलमा उनले बाँया खुट्टाको एसिएल चोट बोकेका थिए।
ब्राजिल प्रशिक्षक डोरिवाल भने नेयमारलाई पुनः टिममा समावेश गर्न इच्छुक देखिन्छन्। डोरिवालले भनेका थिए, ‘हामी धैर्य गर्नुपर्छ। उनलाई अक्टोबर, नोभेम्बर वा फेब्रुअरीमा फर्काउन सकिएन भने पनि ठिक छ। तर, पहिला चोट निको पार्न समय चाहिन्छ। जब उनी पुनः खेल्न सक्षम हुन्छन्, तब हामी उनको क्षमता प्रयोग गर्नेछौं।’
डोरिवाललाई सान्तोसको खेल अवलोकन गर्दै गरेको देखिएको छ। यसले नेयमारको ब्राजिल टिममा पुनरागमनको सम्भावना अझै बलियो बनाएको छ।