काठमाडौं। भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्।
साबिक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो। विंगर ग्याल्सेन दोसोपल्ट नेपाल आउन लागेका हुन्।
यसअघि उनले मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिगसमेत खेलिसकेका छन्। सात खेल खेलेका उनले मच्छिन्द्रबाट एक गोल गरेका थिए। त्यसपछि चोट बोकेका उनी स्वदेश फर्किए।
उनले भुटानी टोलीबाट १३ गोल गरेका छन्। उनीले यसअघि इन्डियन सुपर लिग (आइएसएल)मा केरला ब्लास्टर्स, बेंगलुरु र पञ्जाबबाट एफसीबाट खेलिसकेका छन्। ललितपुरले यसअघि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको थियो।
३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्।
गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई मार्की प्लेयरमा निरन्तरता दिएको छ। यस्तै, सनिश श्रेष्ठ र आदित्य शाक्य रिटेन गर्दा मणिकुमार लामा र सन्तोष खत्रीलाई चार/चार लाख खर्चिएर ‘ए’ क्याटोगोरीबाट भित्र्याइसकेको छ।
सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र सुमित श्रेष्ठलाई पनि ललितपुरले अक्सनबाट लिएको छ।