काठमाडौं। लगातार पाँच वर्ष घाटामा गएपछि म्यानचेस्टर युनाइटेडले थप दुई सय कर्मचारीलाई निष्कासन गर्ने तयारी गरिरहेको छ।
क्लबले लागत कटौती योजनाका रूपमा कर्मचारीलाई निष्कासन गर्ने तयारी गरेको सोमबार जानकारी दिएको हो।
यसअघि बेलायती अर्बपति जिम र्याटक्लिफले क्लबको प्रारम्भिक २५ प्रतिशत सेयर खरिद गरेका थिए। उनले अपरेसनको जिम्मा लिएपछि युनाइटेडले पहिलो चरणमा करिब २५० कर्मचारी कटौती गरिसकेको थियो।
अब युनाइटेडले परिवर्तन योजना अन्तर्गत पुनः ठूलो संख्यामा कर्मचारी कटौतीको योजना बनाएको हो। क्लबका अनुसार एक परामर्श प्रक्रियापछि करिब १५०-२०० कर्मचारी हटाइने सम्भावना छ।
युनाइटेडका प्रमुख कार्यकारी उमर बेरादा भन्छन्, ‘हाम्रो जिम्मेवारी युनाइटेडलाई पुरुष, महिला र एकेडेमी टोलीसहित सबै क्षेत्रमा जित्न सक्षम बनाउने हो। क्लबलाई परिवर्तन गर्न र पुनर्निर्माण गर्न आवश्यक विभिन्न उपायहरू हामी अघि बढाउँदैछौं।’
उनले थपे, ‘दुर्भाग्यवश यसले केही थप कर्मचारी कटौतीको आवश्यकता पर्नेछ। प्रभावित हुने सबै सहयोगीहरूमाथि गहिरो असर पार्नेछ। तर, क्लबलाई आर्थिक रूपमा स्थिर बनाउन यस्ता कठिन निर्णय लिनैपर्छ।’
युनाइटेडले सन् २०१९ यता लगातार पाँच वर्ष घाटामा रहेको बताउँदै उनले अब आर्थिक सन्तुलन कायम राख्नुपर्ने बताए।
‘यो अवस्था अब जारी राख्न सकिँदैन। हाम्रो दुई प्रमुख प्राथमिकता मैदानमा सफलता प्राप्त गर्नु र क्लबको पूर्वाधार सुधार गर्नु हो। तर, निरन्तर घाटामा रहँदा हामी यी क्षेत्रमा लगानी गर्न सक्दैनौं। यस प्रक्रिया पूरा भएपछि क्लब अझ लचिलो, चुस्त र आर्थिक रूपमा दिगो हुनेछ,’ उनले भने।
युनाइटेडले खर्च कटौतीका उपायअन्तर्गत यस सिजनको बीचमै सबैभन्दा सस्तो टिकटको मूल्य ४० पाउन्डबाट ६६ पाउन्ड पुर्याइसकेको छ।
२० पटकको इङ्लिस लिग विजेता युनाइटेड हाल कठिन समयमा गुज्रिरहेको छ। टिम २० टोली सहभागी प्रिमियर लिगको १५औं स्थानमा छ। सुरुआती २६ मध्ये १२ खेलमा पराजय भोगेको टोलीले केवल आठ खेल जित्न सफल भएको छ।