काठमाडौं । हाइटीका पूर्व फरवार्ड केरवेन्स बेलफोर्ट ललितपुर सिटी एफसीमा अनुबन्ध भएका छन्।
साबिक विजेता ललितपुरले उनलाई नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणका लागि भित्र्याएको हो।
३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्।
टिमको फरवर्ड लाइनलाई बलियो बनाउन बेलफोर्टलाई अनुबन्ध गरिएको क्लबका प्रबन्ध निर्देशक आलोक जोशीले बताए । विदेशी फरवार्डको आगमनले टिमको आक्रमण बलियो बन्ने उनको विश्वास छ।
‘नेयमारदेखि सर्जियो रामोस जस्ता विश्वस्तरीय खेलाडीसँग खेलेका खेलाडी ल्याउन पाउँदा हामी खुसी छौं । विश्व फुटबलका ठुला टिम र खेलाडीविरुद्ध उनको प्रभावशाली प्रर्दशनलाई हेरेर नेपालमा ल्याउन लागेका हौं ।’ जोशीले भने ।
गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङलाई मार्की प्लेयरमा निरन्तरता दिएको छ।
यस्तै, सनिश श्रेष्ठ र आदित्य शाक्य रिटेन गर्दा मणिकुमार लामा र सन्तोष खत्रीलाई चार चार लाख खर्चिएर भित्र्याइसकेको छ। सुदीप गुरुङ, योगेश गुरुङ, नवीन लामा, अभिषेक वाइवा र सुमित श्रेष्ठलाई पनि ललितपुरले अक्सनबाट लिएको छ।