काठमाडौं। धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को आगामी सिजनका लागि नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
सुदूरपश्चिम प्रदेशका दीपेन्द्रले एकदिवसीय तथा ट्वान्टी–२० क्रिकेटमा प्रतिनिधित्व गर्दै दुई शतक र १२ अर्धशतक प्रहार गर्नुका साथै ८७ विकेट लिएका छन्।
यसअघि धनगढीले नेपाल राष्ट्रिय टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जुलाई ‘मार्की खेलाडी’ को रूपमा अनुबन्ध गरिसकेको छ।
यस्तै, लेबनानी फरवार्ड अहमद हिजाजीलाई लेबनानी प्रिमियर लिग क्लब बुर्ज एफसीबाट लोनमा अनुबन्ध गरेको छ। हिजाजीले अघिल्लो संस्करण पनि धनगढका लागि खेलेका थिए।
उनले ललितपुर सिटी एफसीविरुद्धको फाइनलमा समेत गरी कुल चार गोल गरेका थिए। धनगढी दुवै संस्करणमा उपविजेता बनेको थियो।
धनगढीका अध्यक्ष सुवास शाहीले दीपेन्द्रलाई धनगढी एफसीको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गर्न पाउँदा आफू अत्यन्त खुसी रहेको प्रतिकृया दिए। ‘उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन्, जुन सुदूरपश्चिमका लागि गर्वको विषय हो,’ सुवासले भने।
दीपेन्द्रले भने आफू धनगढीको ब्रान्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित रहेको बताए। सुदूरपश्चिमका खेलप्रेमी दर्शकहरूलाई यो सिजन अविस्मरणीय बनाउने प्रयास गर्ने उनले बाचा गरे।