काठमाडौं। इङ्लिस प्रिमियर लिग उपाधि होडमा नरहे पछि म्यानचेस्टर सिटीलाई अब च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्नबारे चिन्ता बढेको छ।
आइतबार लिभरपुलविरुद्ध २–० को हार बेहोरेपछि पेप ग्वार्डिओलाको टोली तालिकाको चौथो स्थानमा रोकिएको छ। तर, अबका १२ खेलमा प्रतिस्पर्धी टोलीहरूले सिटीलाई पछि पार्न सक्ने सम्भावना बढेको छ। हाल सिटीको ४४ अंक छ। १०औं स्थानको फुलह्यामसँग मात्र पाँच अंकको अन्तर छ।
सिटीले अब च्याम्पियन्स लिग स्थान सुरक्षित राख्न संघर्ष गर्नुपर्ने ग्वार्डिओलाले स्वीकारे।
‘यदि हामी शीर्ष चारमा पर्न सकेनौं भने त्यो हाम्रो असक्षमताका कारण हुनेछ, इच्छाशक्ति वा मिहिनेतको कमीले होइन,’ उनले भने।
सिटीले लिभरपुलविरुद्ध खेलमा बल पोसेसनमा दबदबा जमाए पनि आक्रमण धारिलो हुन सकेन। मुख्य स्ट्राइकर एर्लिङ हालान्ड अनुपस्थित हुँदा सिटीको आक्रमण प्रभावहीन देखियो।
ग्वार्डिओलाले भन्छन्, ‘खेल राम्रो थियो, हाम्रा खेलाडीहरू उत्कृष्ट थिए। तर, अट्याकिङ थर्डमा क्रिएटिभिटीको कमी भयो।’ हालान्ड चोटग्रस्त अवस्थामा छन्। तर, ग्वार्डिओलाका अनुसार उनी चाँडै फर्किनेछन्।
‘स्क्यानअनुसार उनी घाइते छैनन्। तर, उनले आफूलाई ठीक महसुस गरेका छैनन्। हामीले उनको निर्णयलाई सम्मान गर्नुपर्छ,’ उनले भने।
सिटीले बुधबार टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ, जहाँ हालान्डको पुनरागमन अपेक्षित छ।