काठमाडौं। इङ्लिस प्रिमियर लिगमा लिभरपुलको उपाधि यात्रा कसले रोक्ला? डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले त पक्कै होइन। यी दुई टोली आइतबार एकपल्ट पुन: आमुन्नेसामुन्ने भएका थिए।
तर, लिभरपुलले सिटीलाई उसकै घरेलु मैदानमा २–० ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा आफ्नो अग्रता बलियो बनायो। खेलपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि अब उपाधि लिभरपुलको हातमा रहेको स्वीकारेका छन्।
पहिलो हाफमै मोहमद सलाह र डोमिनिक सोबोस्लाईको गोलले लिभरपुललाई सहज जिततर्फ अघि बढायो। यो जितपछि लिभरपुल २७ खेलबाट ११ अंकको अग्रतासहित शीर्ष स्थानमा छ। सिटी भने लिभरपुलसँग २० अंकले पछि परेको छ।
आर्ने स्लटको नेतृत्वमा लिभरपुलले यो सिजन जबरजस्त प्रदर्शन गरिरहेको छ। सिजनको सुरुआतमा कसैले पनि लिभरपुललाई उपाधि दाबेदारका रूपमा हेरेको थिएन। तर, अहिले लिभरपुलको उपाधि यात्रा रोक्न कठिन देखिएको छ।
यो हारसँगै सिटीको सिजन झनै कठिन भएको छ। यस सिजन प्रिमियर लिगमा सिटीको यो आठौं हार हो। ग्वार्डिओला अब खराब कीर्तिमानको नजिक पुगेका छन्। यसअघि २०१९–२० सिजनमा सिटीले १२ खेल गुमाएको थियो। उक्त सिजन सिटीले लिग जित्न सकेन र लिभरपुल नै च्याम्पियन बनेको थियो।
हाल सिटी तालिकाको चौथो स्थानमा छ र न्यूक्यासलसँग गोल अन्तरको आधारमा मात्र अगाडि छ। पाँचौं स्थानको एस्टन भिल्ला सिटीभन्दा केवल दुई अंकले मात्र पछाडि छ। यदि सिटीले आफ्नो नतिजमा सुधार नगरे च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना नै गुम्न सक्छ।
ग्वार्डिओलाले भने, ‘यदि हामी शीर्ष चारमा पुग्न सकेनौं भने त्यो हाम्रो असक्षमताका कारण हुनेछ, इच्छाशक्ति वा मेहनतको कमीले होइन।’