काठमाडौं। अनुभवी मिडफिल्डर लुका मोड्रिचले सानदार लामो दूरीको गोल गर्दै रियल मड्रिडलाई आइतबार भएको खेलमा जिरोनाविरुद्ध २–० को जित दिलाए।
यो जितसँगै ला लिगाको डिफेन्डिङ च्याम्पियन रियल शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गर्न सफल भएको छ।
४१औं मिनेटमा मोड्रिचले बललाई चेस्टले नियन्त्रण गर्दै दायाँ खुट्टाबाट उत्कृष्ट प्रहार गरे। उक्त बल सान्टियागो बर्नाबेउको पोस्टको माथिल्लो कुनामा गोल भएको थियो।
‘यस्तो गोल गर्न निरन्तर प्रयास गर्नुपर्छ,’ मोड्रिचले भने, ‘म एक्लै थिएँ बल नियन्त्रण गरें, राम्रोसँग प्रहार गरें र भगवानको कृपाले बल गोल पोस्टमा गयो। आफ्नै मैदानमा समर्थकहरूको अगाडि गोल गर्नु सधैं विशेष हुन्छ।’
उनको गोलपछि बर्नाबेउ स्टेडियममा ठूलो ताली बज्यो, जसले मोड्रिचको क्लबप्रति रहेको सम्मानलाई झल्कायो। उनले भने, ‘म रियलका समर्थकहरूको प्रेमप्रति निकै आभारी छु। आज फेरि उनीहरूले मलाई सम्मान दिए र म केवल धन्यवाद भन्न सक्छु।’
८३औं मिनेटमा भिनिसियस जुनियरले किलियन एम्बाप्पेको उत्कृष्ट असिस्टलाई सदुपयोग गर्दै दोस्रो गोल गरे। यो नतिजासँगै रियल बार्सिलोनासँग अंक बराबरी गर्न सफल भएको छ।
यी दुवै टोलीको समान ५४ अंक छ। बार्सिलोनाले शनिबार लास पालमासलाई २–० ले हराएको थियो। हेड–टु–हेड नतिजाका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ भने तेस्रो स्थानको एट्लेटिको रियल ५३ अंकका साथ नजिक छ।
यस सिजन मोड्रिचले ला लिगामा मात्र नौ खेलमा सुरुआती स्थान बनाएका छन्। तर, ३९ वर्षीय यी खेलाडीले अझै पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्रशिक्षक कार्लो एन्सेलोटीले मोड्रिचको प्रशंसा गर्दै भने, ‘मोड्रिच फुटबलका लागि उपहार हुन्। हामी भाग्यमानी छौं कि हामीसँग यस्तो महान् खेलाडी छ।’
म्यानचेस्टर सिटीविरुद्ध च्याम्पियन्स लिग प्लेअफ खेल खेलेपछि प्रशिक्षक एन्चेलोटीले केही नियमित खेलाडीलाई आराम दिएका थिए। रुडिगर र फेडेरिको भाल्भेर्डेलाई बाहिर राखिएको थियो। घुँडाको चोट बोकेका डेभिड अल्बाले एक वर्षपछि पुनरागमन गरे। लुकास भास्क्वेज पनि चोट निको पारेर टिममा फर्किए।
मोड्रिचले यसअघि ओसासुनाविरुद्धको खेलमा पनि सुरुआती स्थान बनाएका थिए। मिडफिल्डर जुड बेलिङ्घम भने रेफ्रीमाथि अपशब्द प्रयोग गरेको आरोपमा दुई खेलको प्रतिबन्ध खेपिरहेका छन्।
रियलको शीर्ष स्थानको दौडलाई अझ रोमाञ्चक बनेको छ। च्याम्पियन्स लिगमा आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ भने ला लिगाको उपाधि दौडमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्न पूर्ण रूपमा केन्द्रित रहनेछ। यता, जिरोनाले पछिल्ला आठमध्ये सात खेलमा हार बेरेको छ। ला लिगामा भने यो उसको तेस्रो हार हो