सावित्राको गोलसँगै हारबाट जोगियो नेपाल

काठमाडौं। सावित्रा भण्डारीको नायकी गोलसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा हारबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा नेपालले म्यानमारसँग २–२ को बराबरी खेलेको हो। नेपालले म्यानमारसँग दोस्रोपल्ट बराबरी खेलेको हो।
सन् २०१८ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। यो बराबरीसँगै यी दुई टोलीले समान सात अंकसहित लिग चरण सक्काएका छन्। तर, गोलअन्तरमा भने म्यानमार शीर्ष स्थानमा रह्यो। अब यी दुई टोलीले उपाधि हात पार्न फागुन १४ गते पुन: एकअर्काविरुद्ध खेल्नेछन्। यो यी दुई टोलीको अन्तर्राष्ट्रिय फुटबलमा पाँचौं भेट हुनेछ।
खेलको पाँचौं मिनेटमै म्यानमारले अग्रता लिएको थियो। फ्रिककमार्फत म्याथ नोइले दोस्रो बार च्यापेर प्रहार गरेको बल सिधै गोलमा परिणत भयो। उक्त बललाई गोलकिपर अञ्जना रानामगरले बचाउने कुनै मौका पाइनन्। अघिल्ला दुई खेलमा बेञ्चमा बसेकी अञ्जनालाई मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको स्थानमा सुरुआती ११ मै खेलाएका थिए।
तर, उनको निर्णय फलदायी साबित हुन सकेन। तर, नेपाल ११औं मिनेटमै खेलमा फर्कियो। सावित्रा भण्डारीले दिएको क्रसलाई अनमार्क सविता रानामगरले सहजै गोल गरिन्।
तर, उक्त अग्रता पाँच मिनेट पनि टिक्न सकेन। १६औं मिनेटमा पुन: म्यानमारले अग्रता लियो। विपक्षी खेलाडीले अगाडि दिएको बललाई डिफेन्डर विमला बिके अलमलिँदा मे हातइत लुले बल खोस्दै गोल गरिन्। उनको प्रहारलाई पनि अञ्जनाले रोक्न सकिनन्।
तर, ४१औं मिनेटमा सावित्राले नेपाललाई खेलमा फर्काइन्। प्रीति राईले निकाल्दिएको पासमा सावित्राले बराबरी गोल गरेका हुन्। उनको यो ५८औं अन्तर्राष्ट्रिय गोल हो। त्यसपछि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाँडे।










-1763733911749.jpg&w=3840&q=75)



