काठमाडौं। बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक आफ्नो टोलीको प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट नभएको बताएका छन्।
बार्सिलोनाले शनिबार लास पालमासविरुद्ध २–० को संघर्षपूर्ण जित हासिल गरेको थियो। उनले ला लिगा शीर्ष स्थानमा रहे पनि टोलीले अझै सुधार गर्न आवश्यक रहेको औंल्याए।
बार्सिलोनाले पहिलो हाफमा धेरै गोल गर्ने अवसर सिर्जना गर्न सकेन। तर, दोस्रो हाफमा दानी ओल्मो र फेरान टोरेस बेन्चबाट आएर गोल गरे। योसँगै बार्सिलोनालाई ला लिगाको उपाधि दौडमा बलियो अवस्थामा राख्न मद्दत पुगेको छ।
हाल बार्सिलोना ५४ अंकका साथ लिगको शीर्ष स्थानमा छ। एट्लेटिको मड्रिड ५३ अंकका साथ दोस्रो स्थानमा छ। रियल मड्रिड भने ५१ अंकका साथ तेस्रो स्थानमा छ। तर, यी दुई टोलीले एक खेल कम खेलेका छन्।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा फ्लिकले भने, ‘खेलबाट म पूर्ण रूपमा खुसी छैन। तर, तीन अंक पाउँदा खुसी छु। पहिलो हाफमा चिन्तित थिएँ। तर, केही समस्या सुधार्यौं र खेलाडीहरूले राम्रोसँग बुझेर दोस्रो हाफमा सुधार गरे।’
सबै खेलाडीमा टिमवर्क हुन आवश्यक रहेको उनले बताए। ‘अर्को कुरा क्लिन सिट राख्नु धेरै महत्त्वपूर्ण थियो। पहिलो हाफमा हामीले धेरै बल गुमायौं, जुन सुधार गर्नुपर्ने पक्ष हो,’ उनले भने।
तर, समग्रमा फ्लिकले अपेक्षाकृत सन्तुष्ट रहेको बताएका छन्। उनले भने, ‘हामी अझै शीर्ष स्थानमा छौं, जुन राम्रो कुरा हो। तर, हामी सुधार गर्न सक्छौं र गर्नैपर्छ।’