काठमाडौं। च्याम्पियन्स लिगको राउन्ड अफ १६ को ‘ड्र’ शुक्रबार सार्वजनिक हुँदा केही ठूला भिडन्त तय भएका छन्।
रियल मड्रिडले गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो। यो टोलीले अब अन्तिम आठमा स्थान बनाउन सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग दुई लेग खेल्नेछ।
यी दुई टोली सन् २०१४ र २०१६ को फाइनलमा आमनेसामने भएका थिए, जहाँ दुवै पटक रियलले जित निकालेको थियो। बुन्डेसलिगामा अग्रस्थानमा रहेको बायर लेभरकुजेन र साविक विजेता बायर्न म्युनिखबीच पनि प्रतिस्पर्धा हुने भएको छ।
यी दुई टोली केही दिनअघि मात्रै लिगमा आमनेसामने भएका थिए। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। नयाँ संरचनाको लिगअनुसार यस सिजनबाट एकै राष्ट्रभित्रकै टोलीलाई एकअर्काविरुद्ध खेल्न सक्ने बनाइएको छ।
यसअघिको नियमअनुसार एउटै राष्ट्रका क्लब अन्तिम १६ मा एकअर्काविरुद्ध खेल्न पाउँदैन्थे। तर, नयाँ संरचनाले ‘मड्रिड डर्बी’ र ‘जर्मन क्लासिक’जस्ता प्रतिस्पर्धा सम्भव बनाएको छ।
इङ्लिस क्लब लिभरपुल ‘टप सिडेड’ टोलीको रूपमा ‘ड्र’ मा समावेश भएको थियो। यद्यपि, कठिन प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पिएसजी) सामना गर्ने भएको छ। लिभरपुल र पिएसजी यसअघि नकआउट चरणमा कहिल्यै आमनेसामने भएका छैनन्।
यी दुईको अघिल्लो भेट सन् २०१८–१९ को समूह चरणमा भएको थियो, जहाँ दुवै टोलीले आफ्नो घरेलु मैदानमा जित निकालेका थिए। सोही सिजन लिभरपुलले छैटौं युरोपियन कप उपाधि जितेको थियो।
पहिलो लेगका खेलहरू मार्च ४–५ मा हुनेछन्। दोस्रो लेगका खेल भने त्यसको एक हप्तापछि खेलाइनेछन्।
अन्य खेलहरू:
बार्सिलोना भर्सेस बेन्फिका
आर्सनल भर्सेस पिएसभी आइन्धोभेन
इन्टर मिलान भर्सेस फेयनोर्ड
क्लब ब्रुग भर्सेस एस्टन भिल्ला
बोरुसिया डर्टमुन्ड भर्सेस लिल