काठमाडौं। विभागीय टोली एपिएफ शुक्रबार एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा फर्किएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा प्रतियोगिताकै कमजोर टोली एफसी खुमलटारलाई एपिएफले ५–० ले पराजित गरेको हो। एपिएफको जितमा अभिनाष वाइबा, सन्देश घलान, आयुष महर्जन, तेन्जिङ शेर्पा र रितेश सुनाले गोल गरे।
यो नतिजासँगै एपिएफले १६ खेलबाट ३६ अंक पुर्याएको छ, जुन दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा एक अंक बढी हो। खुमलटार भने १५ खेलबाट चार अंकसहित १०औं स्थानमा छ।
अभिनाषले ३८औं मिनेटमा एपिएफलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर सन्देश र आयुषले गोल गर्दै एपिएफलाई ३–० को फराकिलो अग्रता दिलाए।
७१औं मिनेटमा तेन्जिङ र ७८औं मिनेटमा रितेशले गोल गरे।